‘जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि आवश्यक कार्यक्रम कार्यान्वयनमा सरकारकाे ध्यान केन्द्रित’
आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको बजेटमाथि आएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतोले जलवायु परिवर्तनको अनुकूलन र वातावरण संरक्षण कायम गर्न आवश्यक कार्यक्रमको कार्यान्वयनका लागि ध्यान केन्द्रित गरेको बताए।
काठमाडाैं, असार १० : वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि आवश्यक कार्यक्रमको कार्यान्वयनका लागि ध्यान केन्द्रित गरेको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको बजेटमाथि आएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतोले जलवायु परिवर्तनको अनुकूलन र वातावरण संरक्षण कायम गर्न आवश्यक कार्यक्रमको कार्यान्वयनका लागि ध्यान केन्द्रित गरेको बताए।
उनले वनको दिगो व्यवस्थापन, सार्वजनिक तथा नदी उकास क्षेत्रमा वृक्षारोपण, भू तथा जलाधार संरक्षण, जैविक विविधताको संरक्षणको प्रभावकारिताका लागि आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिए। उनले काठको उत्पादन वृद्धि गरी काठ तथा काष्ठजन्य बस्तुबाट मुलुकलाई आत्मनिर्भर बनाउने र आयातलाई प्रतिस्थापन गरि निर्यात बढाउने लक्ष्य सरकार अघि बढेको बताए। संरक्षित वन क्षेत्रमा बसोबास गरेकाहरुलाई उचित व्यवस्थापन गर्न गम्भीर रहेको उनको भनाइ छ।
त्यस्तै आफ्ना मन्त्रालयमाथिको बजेटमा आएका जिज्ञाशाको जवाफ दिदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले एक सय स्थानीय तहमा महिला उद्यमशीलता कार्यक्रम विस्तार गरिएको बताए। मावन बेचबिखनलाई रोक्न हरेक तहमा अभियानमूलक अभियान सञ्चालन गरिने उनले बताए।
उनले मानव विकास सूचकांकमा पछाडि परेका स्थानीय तहका विपन्न र एक महिलालाई सीप क्षमतावृद्धि गरिने तयारी रहेको जानकारी दिए। उनले बेवारिसे र जोखिममा परेका बालालिकाको खोजी, उद्धार र संरक्षणका लागि काम भइरहेको धारणा राखे।
उनले आगामी बर्ष बालसुधार गृहमा रहेका बालबालिको संख्या बढ्दै गएको अवस्थामा तनहुको ढकालटारमा बालसुधार गृहलाई सुदृढ गर्ने योजना गरेको जानकारी दिए।











