Kathmandu Press

धर्म परिवर्तन गराउने अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे गृहमन्त्रीले के भने?

धर्म परिवर्तन गराउने अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे गृहमन्त्रीले के भने?

काठमाडौं, असार १० : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दबाब र प्रलोभनमा धर्म परिवर्तन गर्न नदिइने बताएका छन्।

गृह मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नहरुको आइतबारको प्रतिनिधिसभा बैठकमा जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले धर्मजस्तो संवेदनशील विषय व्यक्तिको अधिकार हुने उल्लेख गर्दै उनले धर्म प्रचार अभियानलाई भने सञ्चालन गर्न नदिने स्पष्ट पारे।

‘दबाब वा प्रलोभनमा कुनै पनि मिसनमा आधारित भएर कुनै पनि प्रकारको धर्म प्रचारको अभियानलाई भने निवाध छोड्न सकिँदन। यो कुरामा पनि सरकार गम्भीर छ र रहनेछ’ गृहमन्त्री श्रेष्ठले भने।

गृहको बजेटमाथिको छलफल हुने क्रममा सांसदहरुले दबाब र प्रलोभनमा धर्म परिवर्तन गराउने कार्य हुँदै आएको भनी सरकारको ध्यानाकर्षण गराएका थिए।

धर्म व्यक्तिको आस्थाको विषय भएकाले कसैलाई कुनै धर्म मान्न र नमान्न वा आफ्नो धर्म वा आस्था स्वेच्छिक रुपले परिवर्तन गर्न छुट रहने उनले बताए। तर व्यक्तिको आस्था रहेको धर्मजस्तो संवेदशनशील विषयमा प्रचारात्मक अभियान चलाएर बस्तीका बस्ती नै धार्मिक रुपान्तरणको प्रक्रियामा जाने स्थितिको भने राज्य गम्भीर र संवेदनशील हुनुपर्ने अवस्था रहेको उनको भनाइ थियो।

नेपाल धर्मनिरपेक्ष राज्य रहेको र धर्म निरपेक्ष राज्यले राज्यलाई धर्मबाट अलग राख्ने उनले बताए। ‘धार्मिक स्वतन्त्रतालाई हामी सम्मान गर्छौं। त्यसलाई सुनिश्चित गर्छौं। त्यसमा कुनै पनि प्रकारको दबाब करकापबाट मुक्त रही आफ्नो धार्मिक आस्था र धार्मिक विश्वास अनुसार आफनो जीवन मूल्य जीवन आचरण अगाडि बढाउने वातावरण सरकारले सुनिश्चित गर्ने कुरामा सरकार दृढ छ,’ उनले भने।

त्यसैगरी गृहमन्त्री श्रेष्ठले तथ्य र प्रमाणका आधारमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा थप कामकारबाही अघि बढ्ने बताए।

केही पात्रहरुलाई अभियोजनको प्रक्रियामा अदालतमा अगाडि बढाइएको बताउँदै उनले भने, ‘पुर्पक्षमा थुनामा छन् र केही अनुसन्धानको प्रक्रिया अगाडि बढिरहेको र अनुसन्धानको तथ्य र प्रमाणका आधारमा थप कामकारबाही अगाडि बढ्नेछ।’

पहिलो चरणको अनुसन्धान पूर्ण नभएकाले जिल्ला सरकारी वकिलको कार्यालयले दोस्रो चरणको अनुसन्धानपश्चात तथ्य र प्रमाणका आधारमा थप कामकारबाही हुने उनले बताए।  ‘नेपाली नागरिकलाई अनागरिक बनाएर अर्काको देशमा शरणार्थीको रुपमा पठाउने र सम्पति आर्जन गर्ने जुन प्रवृतिले काम गरिरहृयो त्यसको अनुसन्धान गर्दै त्यसमा संलग्न व्यक्तिलाई कानुनको दायरामा ल्याउने कुरा । ठगी, संगठत अपराध, राज्यद्रोश र किर्तेका विरुद्ध ठोस कदमहरु अगाडि बढाइएको छ,’ उनले भने।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीहरुसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिइसकेको छ।

प्रकाशित मिति: १४:५१ बजे, आइतबार, असार १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्