प्रतिपक्षीले विरोध गर्ने र सत्तापक्षले निरंकुश बन्ने प्रवृत्तिले लोकतन्त्र मजबुद हुन्न : गृहमन्त्री श्रेष्ठ
आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको बजेटमा आएका जिज्ञासको जवाफ दिँदै श्रेष्ठले विरोधका लागि विरोध गर्ने र सत्तापक्षमा रहेपनि निरंकुश हुने प्रवृतिले लोकतन्त्र मजबुद हुन नसक्ने भन्दै नयाँ अभ्यास सुरु गर्नुपर्ने बताए।
काठमाडाैं, असार १० : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिपक्षीमा रहेकाले विरोध गर्ने र सत्तापक्षमा बस्नेले निरंकुश बन्ने प्रवृत्तिले लोकतन्त्र मजबुद हुन नसक्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको बजेटमा आएका जिज्ञासको जवाफ दिँदै श्रेष्ठले विरोधका लागि विरोध गर्ने र सत्तापक्षमा रहेपनि निरंकुश हुने प्रवृतिले लोकतन्त्र मजबुद हुन नसक्ने भन्दै नयाँ अभ्यास सुरु गर्नुपर्ने बताए।
उनले सदनमा बजेटका बिषयमा छलफल गर्ने र आएको सुझावहरुलाई अंगिकार नगर्ने परम्परालाई पनि अन्त्य गर्नुपर्ने धारणा राखे।
गृहमन्त्री श्रेष्ठले प्रहरी बढुवामा पैसाको चलखेललाई शुन्यमा झारिएको दाबी गरे। त्यस्तै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले छानबिन गरिएको भन्दै बालुवाटार, यती, ओम्नीलगायत काण्डमा अनियमितता, भ्रष्टाचार देखिए कसैलाई पनि छुट नहुने स्पष्ट पारे।
सीमा क्षेत्रलाई थप व्यवस्थित र चुस्त दुरुस्त बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ । सीमा सुरक्षाका लागि हालसम्म दुई सय ५० बिओपी स्थापना गरिएको र थप स्थानमा पनि स्थापना हुने उनले बताए।
उनले प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न सरकारले आवश्यक कदम चालिसकेको र हालै आएको बाढिपहिरोबाट पीडितलाई आवश्यक राहत र पुर्नस्थापना गरिसकेको जानकारी दिए।
उनले पश्चिम नेपालको जोखिमलाई मध्यनगर गरि दाङ र कैलालीमा पूर्व विपद तयार अभ्यास पनि गरिसकेको बताए।











