Kathmandu Press

आइसीसी विश्वकप छनोट : सुपर सिक्समा पुग्न नेपाललाई जित्नैपर्ने दबाब

जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपाल जितको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दैछ।
आइसीसी विश्वकप छनोट : सुपर सिक्समा पुग्न नेपाललाई जित्नैपर्ने दबाब

काठमाडाैं, असार ८ : आइसीसी विश्वकप छनोट (२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालभोलि नेदरल्यान्ड्ससँग खेल्दैछ। 

जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपाल जितको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दैछ। नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार दिउँसो १२ः४५ बजे हुनेछ। प्रतियोगिताको सुपर सिक्समा पुग्ने सम्भावना जीवितै राख्नका लागि नेपाललाई नेदरल्यान्ड्सविरुद्धको खेल जित्नैपर्ने हुन्छ। 

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र नेदरल्यान्ड्स हालसम्म दुई पटक भिडे्का छन्। दुवै टोलीले समान एकरएक जीत हासिल गरेका छन्। 

जारी प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन्। अमेरिका लगातार तीन खेलमा पराजित हुँदै सुपरसिक्सको सम्भावनाबाट बाहिरिएको छ। त्यसैगरी जिम्बावे र वेस्ट इन्डिज प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै सुपर सिक्समा स्थान करिब सुनिश्चित गरिसकेका छन्। 

अब समूह ‘ए’ बाट तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्समध्ये एक सुपर सिक्समा प्रवेश गर्नेछन्। नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो। त्यस्तै तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो।

नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बाबेसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। यससँगै तीन खेलपछि नेपालको  दुई अंक छ भने दुई खेलेको नेदरल्यान्ड्सको पनि समान दुई अंक नै छ। नेपाल अंक तालिकाको चौथो स्थान र  नेदरल्यान्ड्स तेस्रो स्थानमा छ।

प्रकाशित मिति: १७:०९ बजे, शुक्रबार, असार ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्