वेष्ट इन्डिजसँग नेपाल १०१ रनले पराजित

काठमाडौं, असार ७ः आइसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गतको खेलमा नेपाल वेष्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ ।
वेष्ट इन्डिजले दिएको ३४० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४९.४ ओभरमा सबै विकेट गुमाएर २३८ रनमा समेटिएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रनको योगदन गरे भने गुलसन झाले ४२ रन, कप्तान रोहित पौडेलले ३० रन, करण केसी र आसिफ शेखले समान २८ रन बनाउँदा दीपेन्द्रसिंह ऐरिले २३ रन बनाए ।
नेपालका भरपर्दा ब्याट्सम्यान कुशल भुर्तेल र भीम सार्की क्रमशः ५ र २ रन जोड्दै पभेलियन फर्किएपछि नेपाल सुरुबाटै दबाबमा आएको थियो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रन जोडेको थियो । सुरुवाती ३ विकेट सस्तैमा गुमाएको वेस्ट इन्डिजको इनिङ्स कप्तान साइ होप र निकोलस पूरनले शतक प्रहार गर्दै सम्हालेका थिए । होपले १२९ बलमा १३२ रन बनाए भने पूरनले ९४ बलमा ११५ रन बनाएका थिए ।
नेपालका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिन सफल भए भने करण केसी, गुलसन झा, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिएका थिए ।
जिम्बाब्वेमा जारी प्रतियोगितामा यो नेपालको यो तेस्रो खेल हो । यसअघि पहिलो खेलमा जिम्बाब्वेसँग पराजित भएको नेपालले दोस्रो खेलमा संयुक्त राज्य अमेरिकाविरुद्ध प्रभावशाली जित हात पारेको थियो ।











