Kathmandu Press

४० ओभरमा १७५ रन मात्र जोडेर ६ विकेट गुमाएपछि नेपाल हारतर्फ उन्मुख

४० ओभरमा १७५ रन मात्र जोडेर ६ विकेट गुमाएपछि नेपाल हारतर्फ उन्मुख

काठमाडाैं, असार ७ः वेस्ट इन्डिजविरुद्धको एकदिवसीय विश्वकप छनोट खेलमा नेपाल हारतर्फ उन्मुख भएको छ । वेस्ट इन्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याइरहेको नेपालले ४० ओभरमा केबल १८० रन जोड्दै ६ विकेट गुमाएपछि हारतर्फ उन्मुख भएको हो ।

नेपालका कुनै पनि ब्याट्सम्यानबीच उल्लेखनीय पार्टनरसिप नहुनु सबैभन्दा ठूलो समस्याका रुपमा देखियो । हाल ४६ रन बनाएका आरिफ शेख र २७ रन बनाएका गुलसन झा क्रिजमा छन् । 

नेपाललाई अब जितका लागि १० ओभरमा १६४ रन आवश्यक छ । आरिफ र गुलसनले आशालाग्दो पार्टनरसिप खेले पनि ओभर सकिन लागेका कारण नेपाल अप्ठ्यारो अवस्थामा छ ।

यसअघि जम्मा १०० रन जोड्दा सुरुवाती ५ विकेट गुमाएपछि नेपाल दबाबमा आएको थियो । नेपालका भरपर्दा ब्याट्सम्यान कुशल भुर्तेल र भीम सार्की क्रमशः ५ र २ रन जोड्दै पभेलियन फर्किएका थिए । 

आसिफ शेखले २८ रन र कप्तान रोहित पौडेलले ३० रन जोडेर नेपाललाई सम्हाल्ने प्रयास गरेपनि दुवैजना खेलाडी आउट भएपछि नेपालको इनिङ्स धराशायी भएको हो । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रन जोडेको थियो । सुरुवाती ३ विकेट सस्तैमा गुमाएको वेस्ट इन्डिजको इनिङ्स कप्तान साइ होप र निकोलस पूरनले शतक प्रहार गर्दै सम्हालेका थिए । होपले १२९ बलमा १३२ रन बनाए भने पूरनले ९४ बलमा ११५ रन बनाएका थिए ।

नेपालका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिन सफल भए भने करण केसी, गुलसन झा, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिएका थिए ।

प्रकाशित मिति: १९:५७ बजे, बिहीबार, असार ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्