१०० रन जोड्दा ५ विकेट गुमाएपछि नेपाल दबाबमा

काठमाडौं, असार ७ः वेस्ट इन्डिजविरुद्ध नेपालले १०० रन पूरा गरेको छ । तर, शतक पूरा हुँदा ५ विकेट गुमाएपछि नेपाल दबाबमा आएको छ । आइसीसी क्रिकेट विश्वक छनोटअन्तर्गतको खेलमा नेपालले ५ विकेट गुमाएर १०० रन जोडेको हो ।
३४० रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको नेपालले २३ ओभरमा केबल १०० रन जोड्दै ५ विकेट गुमाएपछि दबाबमा आएको हो । नेपालका भरपर्दा ब्याट्सम्यान कुशल भुर्तेल र भीम सार्की क्रमशः ५ र २ रन जोड्दै पभेलियन फर्किएका थिए ।
आसिफ शेखले २८ रन र कप्तान रोहित पौडेलले ३० रन जोडेर नेपाललाई सम्हाल्ने प्रयास गरेपनि दुवैजना खेलाडी आउट भएपछि नेपालको इनिङ्स धराशायी भएको हो । अहिले आरिफ शेख १८ रन र दीपेन्द्र सिंह ऐरी ९ रन बनाएर क्रिजमा नेपालको विश्वकप सपना कायम राख्न संघर्षरत छन् ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रन जोडेको थियो । सुरुवाती ३ विकेट सस्तैमा गुमाएको वेस्ट इन्डिजको इनिङ्स कप्तान साइ होप र निकोलस पूरनले शतक प्रहार गर्दै सम्हालेका थिए । होपले १२९ बलमा १३२ रन बनाए भने पूरनले ९४ बलमा ११५ रन बनाएका थिए ।
नेपालका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिन सफल भए भने करण केसी, गुलसन झा, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिएका थिए ।











