Kathmandu Press

वेस्ट इन्डिजले नेपाललाई दियो ३४० रनको विशाल लक्ष्य

नेपालसँग टस हारेर वेष्ट इण्डिजले पहिला ब्याटिङ गरेको थियो। निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाउँदा दुई ब्याट्सम्यान शतकीय पारी खेले।
वेस्ट इन्डिजले नेपाललाई दियो ३४० रनको विशाल लक्ष्य

काठमाडौं, असार ७ : आइसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ। नेपालका लागि यो अहिलेसम्मकै ठुलो लक्ष्यमध्येको एक हो।

नेपालसँग टस हारेर वेष्ट इण्डिजले पहिला ब्याटिङ गरेको थियो। निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाउँदा दुई ब्याट्सम्यान शतकीय पारी खेले। सुरुवाततिर तीन ब्याट्सम्यानलाई आउट गरेर दबाबमा राखे पनि पछि नेपाली खेलाडी विकेटका लागि संघर्षरत रहे।

नेपालका तर्फबाट करण केसीको दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई आउट गरेका थिए। पाँचौं ओभरमा वेष्ट इण्डिजका ब्याट्सम्यान जोन्सन चार्ल्सलाई गुल्सन झाले आउट गरे। १५.३ ओभरमा तेस्रो विकेटका रुपमा ब्रेन्डन किंगलाई सन्दीप लामिछानेले आउट गरेका थिए।

त्यसपछि वेष्ट इण्डिजका कप्तान साइ होप र निकोलस पुरनले शतकीय पारी खेल्दा चौथो विकेटका लागि २१६ रनको साझेदारी गरे। ११५ रन बनाएका पूरनलाई दीपेन्द्रसिंह ऐरीले ४४औं ओभरको अन्तिम बलमा क्याच आउट गरे।

अन्तिम ओभरको दोस्रो ‌बलमा आउट भएका होपले १३२ रन प्रहार गरे। उनले १२९ बलमा १० चौका र ३ छक्का हिर्काए। १४ बलमा २९ रन प्रहार गरेका रोभमन पावेललाई ललित राजवंशीले ४८ ओभरको पहिलो बलमा गुल्सन झाबाट क्याच गराए। इनिङ्सको अन्तिम बलमा ललितले कीमो पाउललाई १ रनमा बोल्ड गरे। जेसन होल्डर १६ रनमा अविजित रहे।

बलिङमा ललितले ३ तथा करण, गुल्सन, सन्दीप र दीपेन्द्रले एक–एक विकेट लिए । ललितले १० ओभरमा ५२ रन खर्चिए। सन्दीपले १० ओभरमा १ मेडन राख्दै ५० रन खर्चिए। नेपालले आजको खेलमा सातजना बलर प्रयोग गरेको थियो ।

१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। 

प्रकाशित मिति: १७:०३ बजे, बिहीबार, असार ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्