Kathmandu Press

साफ च्याम्पियनसिपः नेपाल कुबेतसँग पराजित

साफ च्याम्पियनसिपः नेपाल कुबेतसँग पराजित

दक्षिण एशियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता पुरुष साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । भारतको  काँतीराव स्टेडियममा आज भएको 
१४औँ साफको उद्घाटन खेलमा नेपाल कुवेतसँग १–३ गोल अन्तरले पराजित भएको हो ।

कुवेतको जितमा कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले एकरएक गोल गरे । खेलको २३औँ मिनेटमा कप्तान खालिदले हेडरमार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४२औँ मिनेटमा शाबैबले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए ।

खेलको ६५औँ मिनेटमा मोहमदले पेनाल्टीमार्फत गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए । नेपालका डिफेन्डर अनन्त तामाङले पेनाल्टी बक्सभित्र ह्याण्डबल गरेपछि कुवेतले पेनाल्टीको अवसर पाएको हो ।

नेपालका लागि अन्जन विष्टले गोल फर्काएका थिए । उनले खेलको ६८औँ मिनेटमा सान्त्वना  गोल गरेका थिए । यस जितसँगै कुवेतले ३ अङ्क जोडेको छ ।

साफ च्याम्पियनसिपमा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ । जसमा नेपालसहित आयोजक भारत, बङ्गलादेश, कुवेत, लेबनान, भूटान, पाकिस्तान र माल्दिभ्स छन् । अब नेपालले दोस्रो खेल शनिबार आयोजक भारतसँग खेल्नेछ । 

प्रकाशित मिति: २०:१० बजे, बुधबार, असार ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्