त्रिकोणात्मक सिरिज : नेपालको पहिलो जित, ३५ रनले हार्यो अमेरिका
काठमाडौं, माघ २५ : आईसीसी क्रिकेट विश्वकप लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको छ....

काठमाडौं, माघ २५ : आईसीसी क्रिकेट विश्वकप लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको छ।
नेपालले दिएको १९१ रनको लक्ष्य पछ्याएको पाहुना टोली अमेरिका ४४ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १५५ रनमै समेटियो।
अमेरिकाका लागि यान हल्याण्डले सर्वाधिक ७५ रनको योगदान दिए। १११ बलको सामना गरेका हल्याण्डले चार चौका प्रहार गरेका थिए। यस्तै, क्यामरन स्टेभेन्सनले १९ र कारिमा जोरेले १० रन जोड्दा रष्टी थेरन ८ र सौरभ नेत्राभल्कर ३ रनमा अविजित रहे।
नेपालका लागि करण केसी र सुशान भारीले समान तीन–तीन विकेट लिए। यस्तै, सन्दीप लामिछानेले दुई तथा कुशल मल्लले एक विकेट लिएका थिए।
यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १९० रनको योगफल तयार पारेको थियो।
नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ५९ र कुशल मल्लले ५० रनको योगदान दिए। यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २१, पारस खड्काले १९, करण केसीले १२ र सुसन भारीले ११ रन जोड्दा अविनाश बोहरा ५ रनमा अविजित रहे।
उपकप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने खाता नै नखोली पभिलियन फर्किँदा ओपनर सुवास खकुरेल ३ तथा आरिफ शेख २ रनमा आउट भए।
अमेरिकाका लागि क्यामरन स्टेभेन्सनले तीन, रष्टी थेरन र सौरभ नेत्राभल्करले समान २–२ विकेट लिँदा एल्मोरे हट्चिन्सन, यान होलान्ड र कारिमा जोरेले समान १–१ विकेट लिएका थिए।
यसअघि भएको पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो।











