बागलुङ दुर्घटना : मृत्यु हुनेको पहिचान खुल्यो
जिप मध्यपहाडी लोकमार्गदेखि पाँच सय मिटर तल खसेको सूचना अधिकारी केसीले बताए।बागलुङ, असार ६ : बागलुङमा आज बिहान जिप दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ। जिल्लाको गलकोटदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग१ ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुंगामा दुर्घटना भएको थियो।
दुर्घटनामा जिपचालक पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगाका २९ वर्षीय राजेन्द्र माझी र जिपमा सवार जैमिनी नगरपालिका–१० राङ्खानीका ३६ वर्षीया दुर्गा पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए। उनका अनुसार दुवैको घटनास्थलमै मृत्यु भएको थियो।
जिप मध्यपहाडी लोकमार्गदेखि पाँच सय मिटर तल खसेको सूचना अधिकारी केसीले बताए। जिप सडकभन्दा धेरै तल खसेकाले कति यात्रु सवार थिए भन्ने अहिलेसम्म एकीन हुन नसकेको उनले जानकारी दिए।
'कस्मेटिक सामानको मार्केटिङ गर्ने गाडी रहेकाले अन्य यात्रु गाडीमा नभएको पनि हुन सक्छ,' केसीले भने। अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार गरी शव परीक्षणका लागि बागलुङ बजारस्थित धौलागिरि अस्पतालमा ल्याउने तयारी भइरहेको उनले बताए।