विश्वकप छनोटः अमेरिकाविरुद्ध नेपालको प्रभावशाली जीत

काठमाडौं, असार ५ः आइसीसी क्रिकेट विश्वकप छनोटमा नेपालले संयुक्त राज्य अमेरिकालाई पराजित गरेको छ । नेपाल ७ ओभर अगावै ६ विकेटले विजयी भएको हो ।
२०८ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको नेपालको जीतमा भिम सार्कीले सर्वाधिक ७७ रन बनाए । ११४ बल खेलेका सार्कीले ७ चौका र १ छक्काको मद्दतमा नटआउट ७७ रन बनाएका हुन् । यस्तै, दीपेन्द्र सिंह ऐरीले ३२ बलमा नटआउट ३९ रन रनको योगदान गरे भने ओपनर कुशल भुर्तेलले पनि ३९ रन जोडेका थिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको संयुक्त राज्य अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन जोडेको थियो । अमेरिकाका सयन जहांगिर र सुसान्त मोदानी बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय इनिंग खेल्न नसकेपछि सस्तैमा समेटिएको थियो । जहांगिरले नटआउट रहँदै ७९ बलमा १०० रन जोडेर शतक पूरा गरेका थिए भने मोदानीले ४२ रन जोडेका थिए ।
नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए भने गुलशन झा, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले क्रमशः ३, २ र १ विकेट लिएका थिए ।
जिम्बाब्वेमा जारी प्रतियोगितामा यो नेपालको पहिलो जीत हो ।











