Kathmandu Press

चुनाव चिन्हकै कारण तुहियो दुई राप्रपाबीचको एकता

काठमाडौं, माघ २४ : चुनाव चिन्ह विवादले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीचको एकता प्रक्रिया तुहिएको छ। 

गत साता....

चुनाव चिन्हकै कारण तुहियो दुई राप्रपाबीचको एकता
फाइल

काठमाडौं, माघ २४ : चुनाव चिन्ह विवादले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीचको एकता प्रक्रिया तुहिएको छ। 

गत साता दुई पार्टी एकता नजिक पुगेपनि चुनाव चिन्हमा कुरा नमिलेपछि एकता टरेको हो। दुई पार्टीबीच तत्काल एकता गरेर कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहोनीले एकीकृत पार्टीको नेतृत्व गर्ने सहमति बनिसकेको थियो।

एकीकृत पार्टीमा राप्रपाको ५५ प्रतिशत र राप्रपा संयुक्तको ४५ प्रतिशत सहभागिता रहने विषयमा समेत सहमति जुटेको थियो। गत बिहीबार तत्कालका लागि चुनाव चिन्हको विषय थाँती राखेर महाधिवेशनमार्फत टुंग्याउने सहमति दुई पार्टीबीच भएको थियो। 

तर, शुक्रबार राप्रपा संयुक्तले चुनाव चिन्ह हलो नै हुनुपर्ने अडान राखेपछि एकता प्रक्रिया टरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए। अहिले राप्रपाको चुनाव चिन्ह गाई र राप्रपा संयुक्तको हलो रहेको छ। 

‘सबै कुरा मिलेको अवस्थामा चुनाव चिन्हका कारण एकता हुन सकेन,’ श्रेष्ठले भने, ‘एकता टेरेपछि हामी महाधिवेशनको तयारीमा जुटेका छौं।’ पार्टी एकता हुने अवस्थामा आगामी जेठ २५ मा हुने महाधिवेशन समेत सार्न राप्रपा तयार थियो। 

तर, एकता रोकिएपछि तोकिएकै समयमा महाधिवेशन गर्ने निर्णयमा राप्रपा पुगेको छ। ६ फागुन २०७३ मा छिन्नभिन्न रहेका समूहहरुको एकीकृत पार्टीको एकता महाधिवेशन भएको थियो। तर महाधिवेशन भएको ६ महिनामै विवाद भएपछि राणा र लोहनीले पार्टी फुटाएर राप्रपा संयुक्त बनाएका थिए। त्यो बेला पनि चुनाव चिन्ह विवादकै कारण पार्टी फुटेको थियो। 

तत्कालीन एकीकृत पार्टीका अध्यक्ष थापाले चुनाव चिन्ह गाई हुने निर्णय गराएपछि राणा र लोहनीले पार्टी फुटाएका थिए। स्थापनाकालदेखि नै राप्रपामा टुटफुटको श्रृंखला चलिरहेको छ। पटक–पटक एकीकृत पार्टी बनाउने प्रयास सफल हुन सकेको छैन।

‘विचार मिल्ने सबैसँग एकता गरेर बलियो पार्टी निर्माण गर्ने हाम्रो प्रयास तत्कालका लागि असफल भएको छ,’ श्रेष्ठले भने, ‘एकताको च्याप्टर क्लोज नै त भएको छैन। तर, पनि तत्कालै एकता हुने अवस्था पनि देखिँदैन।’ 

हाल ‘गाई’ चिन्ह रहेको राप्रपाको प्रतिनिधिसभामा एक, प्रदेश सभामा तीन र स्थानीय तहमा १५ जना प्रतिनिधि छन्। २०४६ को जनआन्दोलनले पञ्चायती व्यवस्थाको अन्त्य गरेपछि पूर्वपञ्चहरुले २०४७ सालमा राप्रपा गठन गरेका थिए। तर, पार्टी गठन हुने प्रक्रियामै पूर्वपञ्चहरु विभाजित हुन पुगेका थिए। सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरा, कमल थापा लगायत राप्रपाको स्थापना गर्न सक्रिय थिए। 

तर, एउटै पार्टी स्थापनाका लागि जुटेका उनीहरु विभाजित हुँदा २०४७ जेठ १५ गते राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टी जन्मिए।  २९ वर्षको इतिहासमा राप्रपाको टुटफुटका श्रृंखला लामै भइसकेका छन्। 
 

प्रकाशित मिति: १८:०९ बजे, शुक्रबार, माघ २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्