एमसीसीका जोनाथन ब्रुक्स नेपाल भ्रमणमा
काठमाडौं, माघ २३ : मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा युरोप, एसिया, प्यासिफिक र ल्याटिन अमेरिकासम्बन्धी मामिला हेर्ने सहायक उपाध्यक्ष जोनाथन ब्र....

काठमाडौं, माघ २३ : मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा युरोप, एसिया, प्यासिफिक र ल्याटिन अमेरिकासम्बन्धी मामिला हेर्ने सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल भ्रमणमा आएका छन्।
नेपालसँगको साझेदारीको हिस्सास्वरूप नियमित तथा जारी परामर्शका लागि उनी काठमाडाैं आएका हुन्। भ्रमणका क्रममा उनले एमसीसी र मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए) नेपालका कर्मचारी, अर्थ मन्त्रालयबाट नवनियुक्त एमसीए नेपाल सञ्चालक समितिका अध्यक्ष र नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलगायत सरकारी अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ।
सन् २००४ मा स्थापित अमेरिकी सरकारको स्वतन्त्र निकाय एमसीसीले कठिन मापदण्ड पुरा गर्ने देशहरूलाई आर्थिक वृद्धिमार्फत गरिबी न्यूनीकरण गर्नका निम्ति समय सीमित अनुदान प्रदान गर्दछ।
नेपाल र अमेरिकाबीच २०७४ भदौमा नेपालका लागि ५० करोड अमेरिकी डलरको अनुदान सहमतिमा हस्ताक्षर भएको थियो। दक्षिण एसियाकै पहिलो उक्त सहमति सरकार, नागरिक समाज र अन्य सरोकारवालाहरूसँग परामर्शको प्रक्रिया अपनाएपछि गरिएको थियो।











