Kathmandu Press

कुशल र आसिफको उत्कृष्ट ब्याटिङमा नेपाल दियो जिम्बाबेलाई २९१

हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धातिर ओभरमा ८ विकेटको क्षतिमा २९० रन बनायो।
कुशल र आसिफको उत्कृष्ट ब्याटिङमा नेपाल दियो जिम्बाबेलाई २९१

काठमाडाैं, असार ३ : ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले उत्कृष्ट ब्याटिङ गरेपछि आईसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालले जिम्बाबेलाई २९१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ। हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धातिर ओभरमा ८ विकेटको क्षतिमा २९० रन बनायो।

यो नेपालको एकदिवसीय क्रिकेटमा तेस्रो उच्च स्कोर हो। यसअििघ नेपालले ओमानविरुद्ध ३१० र पिएनजीविरुद्ध २९८ रन बनाएको थियो । यी दुवै कीर्तिपुर मैदानमा सम्भव भएको थियो।

नेपालका लागि कुशल र आसिफले उत्कृष्ट ब्याटिङ गरे ।  कुशल भुर्तेलले ९९ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरे। उनी ३५औं ओभरको पाँचौं बलमा ह्यामिल्टन मासाकाट्जाको बलमा बोल्ड भए।  यस्तै, मासाकाट्जाकै बलमा आउट भएका आसिफले १ सय बलमा ७ चौका प्रहार गर्दै ६६ रन बनाए।

यी दुईले पहिलो विकेटका लागि १७१ रनको साझेदारी गर्दैै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । यो नेपालको एकदिवसीय क्रिकेटको कुनैपनि विकेटका लागि सर्वाधिक साझेदारी हो।

यस्तै, कुशल मल्लले ४२ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन बनाउँदा कप्तान रोहित पौडेलले २९ बलमा ५ चौका प्रहार गर्दै ३१ रन बनाए। यी दुईले तेस्रो विकेटका लागि ५७ बलमा ७२ रनको महत्वपूर्ण साझेदारी गरेको थियो । यस्तै, गुल्सन झाले १३, आरिफ सेखले १० रनको योगदान दिए।

जिम्बाबेका लागि रिचार्ड एनगारारभाले ४ विकेट लिँदा विलिङ्टन मासाकाट्जाले २ विकेट लिए।

 

प्रकाशित मिति: १६:२० बजे, आइतबार, असार ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्