Kathmandu Press

सार्क शिखर सम्मेलन छिट्टै हुने प्रधानमन्त्री ओलीको विश्वास

काठमाडौं, माघ २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १९औँ शिखर सम्मेलन शीघ्र आयोजना गर्न सदस्य राष्ट्रबीच....

सार्क शिखर सम्मेलन छिट्टै हुने प्रधानमन्त्री ओलीको विश्वास

काठमाडौं, माघ २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १९औँ शिखर सम्मेलन शीघ्र आयोजना गर्न सदस्य राष्ट्रबीच सहमति हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।

शुक्रबार सार्क सचिवालय पुगेका प्रधानमन्त्री ओलीले सङ्क्षिप्त मन्तव्यका क्रममा लामो समयदेखि अवरुद्ध भएको सार्कको १९औँ शिखर सम्मेलन चाँडो हुनेमा आफू ढुक्क रहेको बताए।

उनले सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न आफू आतुर रहेको स्पष्ट पार्दै काठमाडौँमा सम्पन्न १८औँ शिखर सम्मेलनले शान्ति, एकता र प्रगतिका लागि गहिरो साझेदारीमा जोड दिएको स्मरण गरे।

सार्कका राष्ट्राध्यक्ष÷सरकार प्रमुखले सार्कका सिद्धान्त र उद्देश्यप्रति प्रतिबद्धता जनाएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘सार्कलाई पुनःजीवन दिन तथा दक्षिण एशियाका जनताको विकासको चाहना पूरा गर्न यसलाई प्रभावकारी माध्यम बनाउन उहाँहरुले सहमति जनाउनुभएको थियो।”

प्रधानमन्त्री ओलीले सार्क क्षेत्रीय ऐक्यबद्धताको अभिव्यक्ति भएको उल्लेख गर्दै क्षेत्रीय सङ्गठन दक्षिण एशियाका जनताको साझा पहिचान भएको बताए।

सार्कले दक्षिण एशियाका एक अर्ब ७० करोड जनताको द्रुत आर्थिक विकास, सामाजिक उन्नति र सांस्कृतिक प्रगतिलाई प्रतिनिधित्व गरेको पनि उनले बताए।

सार्कका महासचिव अमजद हुसेन बी. सियालले सार्कको परिधिभित्र रहेर क्षेत्रीय सहयोग अभिवृद्धि गर्न महासचिवका रुपमा निर्वाह गरेको भूमिकाको उनले सराहना गरे।

महासचिव सियालले प्रधानमन्त्रीको स्वागत गर्दै सार्कलाई गतिशील तुल्याउन नेपालसहित अन्य सदस्य राष्ट्रबाट आफूलाई निरन्तर सहयोग प्राप्त भएकामा सम्बद्ध सबैमा हार्दिक आभार व्यक्त गरे।

सार्कको १९औँ शिखर सम्मेलन आयोजनामा केही विलम्ब भए पनि सार्कका अन्य गतिविधि निरन्तररुपमा सञ्चालन भएकामा सन्तुष्टि व्यक्त गर्दै उनले आगामी फागुन १७ गतेदेखि आफ्नो कार्यकाल समाप्त हुने जानकारी दिए। उनले नेपालमा दुई पटक सेवा गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै नेपाल र नेपाली जनता सधैँ अविस्मरणीय रहने बताए।

प्रकाशित मिति: १४:५० बजे, शुक्रबार, माघ २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्