Kathmandu Press

साहित्यकार रसिक ‘सासंक पुरस्कार’बाट सम्मानित

साहित्यकार एवं इतिहासकार युद्धप्रसाद वैद्यले सम्मानित सर्जक गणेश रसिक बहुआयामिक व्यक्तित्वका धनी र मुलुकको भाषा, संस्कृति र साहित्यलाई अति माया गर्ने योद्धा भएको बताए। 
साहित्यकार रसिक ‘सासंक पुरस्कार’बाट सम्मानित

झापा, असार २ : अग्रज साहित्यकार तथा सङ्गीतकार गणेश रसिकलाई झापामा आज साहित्य, संस्कृति तथा कला (सासंक) पुरस्कारबाट सम्मानित गरिएको छ।

सासंक प्रतिष्ठान झापाले नेपाली साहित्य, सङ्गीत र कलाको उत्थानमा अतुलनीय योगदान पुर्‍याएवापत उनलाई रु २५ हजार नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेको छ।

Hardik ivf

सम्मानित साहित्यकार रसिकले अहिले लोकसङ्गीत खस्किँदै गएकामा चिन्ता प्रकट गरे। उनले नयाँ पुस्ताका कलाकारलाई धैर्य, खोज र गम्भीरताका साथ लोकभाका, लोकनृत्य र लोकबाजाको संरक्षणमा जुट्न आह्वान गरे।

साहित्यकार एवं इतिहासकार युद्धप्रसाद वैद्यले सम्मानित सर्जक गणेश रसिक बहुआयामिक व्यक्तित्वका धनी र मुलुकको भाषा, संस्कृति र साहित्यलाई अति माया गर्ने योद्धा भएको बताए। 

इलामको सूर्योदयस्थित फिक्कल निवासी ७६ वर्षीय साहित्यकार गणेश रसिकको पूरा नाम गणेशकुमार राई हो। उनको जन्म विसं २००४ असोज ४ गते भोजपुरको छिनामखु–५ नौलागाउँमा भएको थियो। उनी बसाइँ सरेर इलाम आएका हुन्।

इलाममा आएपछि विष्णु नवीनलगायतका साहित्यकारको सङ्गतमा रहेर उनी साहित्य र सङ्गीतको साधनामा लागेको अग्रज पत्रकार चन्द्र भण्डारी बताउँछन्। उनका दशगजामा उभिएर, छपक्कै मनमा बसेका, ताराभन्दा सपना धेरै, मुनिया र उसको छोरो, आकाशगङ्गाको ओतमुनि, पेरुङ्गोलगायतका कृतिहरू प्रकाशित छन्।

सङ्गीत क्षेत्रमा समेत उनको योगदान छ। रत्न रेकर्डिङ, सांस्कृतिक संस्थान, साझा प्रकाशनलगायतका संस्थामा अध्यक्ष रहेर उनले मुलुकको सङ्गीत र साहित्य क्षेत्रको जगेर्नामा योगदान पुर्‍याए। 

२०३२ सालमा रेडियो नेपालबाट उत्कृष्ट गीतकारका रूपमा सम्मानित उनका तीन सयभन्दा बढी आधुनिक, लोक, स्वदेश गानलगायतका गीत रेकर्डिङ भइसकेको सङ्गीतकार टीका भण्डारी बताउँछन्।

प्रकाशित मिति: १८:१३ बजे, शनिबार, असार २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्