राजनीतिक अस्थिरता रोक्न समाजवादी मोर्चा : उपाध्यक्ष पाण्डे
सरकारमा रहेका र सरकार बाहिर रहेका कम्युनिष्ट दलबीच यही असार ४ गते कार्यगत एकता हुन लागेको उनले बताए।
काठमाडाैं, असार २ : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कम्युनिष्टबीच कार्यगत एकता गर्दै देशको राजनीतिक अस्थिरता रोक्नका लागि समाजवादी मोर्चा गठन गर्न लागिएको बताएका छन्।
सरकारमा रहेका र सरकार बाहिर रहेका कम्युनिष्ट दलबीच यही असार ४ गते कार्यगत एकता हुन लागेको उनले बताए।
समाजवादी प्रेस सङ्गठन नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस विषयमा छलफल जारी रहेको बताए। सरकारमा रहेका र बाहिर रहेका कम्युनिष्ट पार्टीबीचको छलफलका टुङ्गिए पनि केही प्राविधिक समस्याका कारण घोषणामा ढिलाइ भएको उपाध्यक्ष पाण्डेको भनाइ थियो ।
उनले थपे, 'सरकारमा देखिएको अस्थिरता रोक्न र सबैलाई एकीकृत गरेर हिँड्न सहज होस् भनेर यो मोर्चा गठनको पहल एक वर्षअघिदेखि भएको हो।' सरकारमा रहेका दलले सरकार सञ्चालनमा सहयोग गर्ने र बाहिर रहेका दलले बाहिरी वातावरण तया गर्ने गरी मोर्चा गठन गर्न लागिएको उनले बताए। नेकपा एमालेले संसद् भङ्ग गर्नु गल्ती भएको आत्मालोचना गरेमा मोर्चामा ल्याउन सकिने तर गल्ती स्वीकार नगरे मोर्चामा ल्याउनुको अर्थ नरहने उपाध्यक्ष पाण्डेले उल्लेख गरे।
फरक प्रसंगमा उनले बजेट हरेक निर्वाचन क्षेत्र र जिल्लामा समानुपातीक हुन जरुरी रहेको बताउनुभयो । अहिलेको बजेटमा विभेद देखिएको भन्दै उनले यसलाई सच्याएर जानुपर्ने बताए। यो सच्याउन नसके सरकारमा बस्नुको अर्थ नरहने उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले बजेट पास हुने समयसम्म सबैको समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे।











