काभा पुरुष भलिबल नेसन्स लिग खेल्ने नेपाली टोलीको बिदाइ
बिहीबार काठमाडौंमा नेपाल भलिबल संघले एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीलाई बिदाइ गरेको हो। नेपाली टोलीलाई राखेपका सदस्य सचिव टंकलाल घिसिङ लगाएत संघका पदाधिकारीले बिदाइ गरेका थिए।
काठमाडाैं, जेठ ३२ : किर्गिस्तानमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिग खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ।
बिहीबार काठमाडौंमा नेपाल भलिबल संघले एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीलाई बिदाइ गरेको हो। नेपाली टोलीलाई राखेपका सदस्य सचिव टंकलाल घिसिङ लगाएत संघका पदाधिकारीले बिदाइ गरेका थिए।
काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीले सहभागिता जनाउने भएका छन्। प्रतियोगितामा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान,उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्किमिनिस्तान रहेको छ।
बिदाइ कार्यक्रममा राष्ट्रिय पुरुष भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टले उत्साहको रुपमा प्रतियोगीतामा भाग लिने भन्दै यसले एशियाली खेलकुदको तयारी समेत हुने बताए।
उनले बिगतमा खेलेको टिम भन्दा बलियो टिम संग खेल्ने भन्दै सिक्ने अवसर प्राप्त हुनेजिकिर गरे। त्यस्तै पुरुष भलिबलका कप्तान हरिहजुर थापाले अहिलेको प्रतियोगीतामा मजबुद टिम रहेकाले चूनौति रहेपनि चूनौतीसंंग लडेरै आउने बताए।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ। यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिता आगामी जुन १८ देखि २५ सम्म हुनेछ।











