Kathmandu Press

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडाैं, माघ २३ : राष्ट्रियसभा बैठकले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ सर्वसम्मतिले पारित गरेको छ। 

बिहीबार बसेको राष्ट्रियसभा बैठक....

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित
फाइल

काठमाडाैं, माघ २३ : राष्ट्रियसभा बैठकले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ सर्वसम्मतिले पारित गरेको छ। 

बिहीबार बसेको राष्ट्रियसभा बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्तुत गरेको विधेयक पारित गरेको हो।  मिडिया काउन्सिल विधेयकका सम्बन्धमा विधायन व्यवस्थापन समितिमा छलफल भई सहमति भएअनुसार नै पत्रकारहरुका लागि लाइसेन्स, परीक्षा तथा दर्ताक्रम हटाएर विधेयक पारित गरिएको हो  

बैठकमा सञ्चारमन्त्री बाँस्कोटाले विधेयकको परीक्षासम्बन्धी व्यवस्था, लाइसेन्स र दर्ता तथा अभिलेखसम्बन्धी परेको संशोधन प्रस्तावलाई स्वीकार गरेको घोषणापछि यसलाई सर्वसम्मत पारित गरिएको थियो। विधेयक पारित गर्नुपूर्व बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल भएको थियो।

छलफलपश्चात् सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मिडियाबाट पीडित भएकाका लागि कानूनी उपचार उपलब्ध गराउने उद्देश्यले विधेयक ल्याइएको बताएका थिए। 

मन्त्री बाँस्कोटाले पोर्चुगलमा पत्रकारका लागि लाइसेन्सको व्यवस्था भएको उल्लेख गर्दै परीक्षाको विषय आफैँमा नराम्रो भने नभएको तर्क राखेका थिए।  उनले मिडियाको हातमा सधैँ नाङ्गो तरवार हुनु हँदैन भन्ने हेतुले सरकारले पत्रकारिता क्षेत्रको पेशागत शुद्धता र आचारसंहिता पालना भए/नभएको हेर्न उक्त विधेयक ल्याइएको स्पष्ट पारे। 

मिडिया काउन्सिल, मिडियाबाट पीडित भएका व्यक्तिका लागि न्याय पाउने नियामक निकाय भएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले पत्रकारका लागि यो नै मूल कानून भने नभएको बताए। उनले काउन्सिलमार्फत मिडियाको विरुद्धमा उजुरी दिन पाउने नागरिकको हकलाई यसले सुनिश्चित गरेको बताए।

“पहिले मूल्याङ्कन आफैँ, जाँचकी पनि आफैँ र आफैँ परीक्षार्थी थियो, काउन्सिल अब जाँचकी मात्रै हो, परीक्षार्थी होइन”, मन्त्री बाँस्कोटाले भने। मिडियाको स्वनियमनको विषय अर्काे कानूनमा आउने जानकारी दिँदै उनले मध्यस्थतासम्बन्धी विस्तृत कुरा नियमावलीमा समेटिने बताए।   

विधेयक पारित हुनुपूर्व विधेयकउपरको छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रियसभामा प्रमुख सचेतक खिमलाल भट्टराईले विधेयक मिहीन ढङ्गले छलफल गरेर आएको जिकिर गरे।  

नेकपाकै सांसद कोमल ओलीले मौलिक हकमै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएकाले विधेयकमा भनिएजस्तो परीक्षाको आवश्यकता नरहेको बताएकी थिइन्।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले पहिले नै विधेयकका सम्बन्धमा पत्रकारका लागि परीक्षा, लाइसेन्स र दर्ताका विषयमा असहमति राख्दै आएको जानकारी गराउँदै उक्त व्यवस्था हटाएर मात्रै विधेयक पारित गर्नुपर्नेमा जोड दिएका थिए।

“सञ्चारकर्मीको हरेक दिन हरसमय परीक्षा भइरहेको हुन्छ, श्रोता, पाठकले मन नपराए आफैँ हराएर जान्छ भने अर्काे परीक्षा किन आवश्यक भयो”, सांसद अधिकारीले भने।   नेपाल मिडिया काउन्सिल विधेयकमाथि आज राष्ट्रियसभामा भएको दफावार छलफलका क्रममा सांसदहरु रामप्रीत पासवान, जीवन बुढा, विमला राई पौडेल लगायतले धारणा राखेका थिए।
 

प्रकाशित मिति: १६:३२ बजे, बिहीबार, माघ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्