दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित
शनिबार दक्षिण अफ्रिकामा भएको दोस्रो अभ्यास खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भयो।
काठमाडाैं, जेठ २७ : एकदिवसीय विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली क्रिकेट टिम दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ। शनिबार दक्षिण अफ्रिकामा भएको दोस्रो अभ्यास खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भयो।
यसअघि पहिलो अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो।
पहिला ब्याटिङ गर्दै नेपालले दिएको १५७ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले ३६.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसका लागि विस्ली बार्सीले सर्वाधिक ६३ रन बनाए। यस्तै, विक्रमजित सिंहले कप्तान स्कट एडवार्डले २२ रन बनाउँदा २१ रन बनाए ।
नेपालका लागि गुलसन झा र ललितनारायण राजवंशीले समान २ विकेट लिए भने प्रतिश जिसीले १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको नेपाल ३६.१ ओभरमै १५६ रनमा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३० रन बनाउँदा गुल्सन झाले २४, प्रतिश जिसीले १९ र आरिफ शेख तथा सोमपाल कामीले समान १८ रन बनाए।
नेपालको इनिङ धरासायी बनाउने क्रममा नेदरल्यान्ड्सका लागि एलभी भान विकले ५ तथा शरिज अहमदले १ विकेट लिए।
अब नेपाली टिम अर्को साता विश्वकप छनोट खेल्न जिम्बाबे जानेछ। छनोटअघि नेपालले २ अभ्यास खेल खेल्ने छ।











