विक्रमले टारे थ्री स्टारको संकट, एपिएफ रेलिगेसनमा
शनिबार दशरथ रंगशालामा भएको खेलमा विक्रमको गोल मद्दतमा जावलाखेल युथ क्लबलाई १–०ले हराउँदै थ्री स्टारले रेलिगेसन संकट टारेको हो।
काठमाडाैं, जेठ २७ : भेट्रान डिमफिल्ड विक्रम लामाको निर्णायक गोलमा अन्तिम खेलमा जित निकाल्दै थ्री स्टार क्लबले रेलिगेसन संकट टारेको छ। शनिबार दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले विक्रमको गोल मद्दतमा जावलाखेल युथ क्लबलाई १–०ले हरायो।
रेलिगसनबाट बच्न थ्री स्टारलाई अन्तिम खेलमा निश्चित जित चाहिएको थियो। सोही खेलमा जित्दै थ्री स्टार रेलिगेसनबाट बच्यो । यो जितपछि थ्री स्टारले लिग नवौं स्थानमा सकाएको छ। उसले २६ खेलमा ७ जित र ११ बराबरीसहित ३२ अंक जोड्यो।
थ्री स्टार रेलिगेसनबाट बच्दा विभागीय टिम एपिएफ क्लब भने रेलिगेसनमा परेको छ। जावलाखेलसँग अंक थ्री स्टारले अंक गुमाएको अवस्था मात्र एपिएफ रेलिगेसनबाट बच्ने थियो । ऊ ८ जित र ६ बराबरीसहित ३० अंक जोड्दै १३औं बन्यो। यसअघि नै खुमलटार पुछारमा रहँदै रेलिगेसनमा परिसकेको थियो।
विक्रमले ८३औं मिनेटमा गोल गरेका थिए । जवलाखेलका प्रमिन श्रेष्ठले विक्रमलाई नै डिबक्समा लगाएपछि प्राप्त पेनाल्टीमा उनले गोल गरेका थिए ।
योसँगै विक्रमले आफ्नो खेल जीवन अन्त्य गरेका छन्। फुटबल जीवन छाडिसकेपनि थ्री स्टारको विशेष आग्रहमा विक्रमले लिग खेलेका थिए।
यता, लिगको अन्तिम खेलमा पराजित भएको जावलाखेलले चौथो स्थानमा लिग सकेको छ। उसले २६ खेलमा १० जित र ७ बराबरी खेल्दै कुल ३७ अंक जोड्यो ।











