Kathmandu Press

रग्बी सेभेन्सको उपाधि हेटौंडा र कर्णालीलाई

कर्णालीले कटारी रग्बी क्लबलाई १५–५ अङ्कले तथा हेटौँडाले हिमालयन टाइगर रग्बी क्लबलाई १४–५ अंकले पराजित गर्दै उपाधि जितेको हो।
रग्बी सेभेन्सको उपाधि हेटौंडा र कर्णालीलाई

काठमाडाैं, जेठ २७ : यु २० राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटाैंडा रगर्सले जितेका छन्। इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा आज सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णाली र महिलातर्फ हेटौँडा विजयी भएको हो। 

कर्णालीले कटारी रग्बी क्लबलाई १५–५ अङ्कले तथा हेटौँडाले हिमालयन टाइगर रग्बी क्लबलाई १४–५ अंकले पराजित गर्दै उपाधि जितेको हो। विजेता दुवै टोलीले रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। उपविजेता दुवै टोलीले रु ३० हजार, मेडल र प्रमाणपत्र पाए। 

प्रतियोगिताका विजेता तथा उपविजेतालाई माई नगरपालिकाका नगरप्रमुख खम्बसिंह लिम्बू, नेपाल रग्बी सङ्घका बरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे, उपाध्यक्ष किरण गिरी, केन्द्रीय सदस्य सन्तकुमार मेहतालगायतले पुरस्कार प्रदान गरे।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ कर्णालीका रोहन डङ्गोल र महिलातर्फ हेटाँैडाकी पुष्पा खड्का घोषित भए। दुवैजनाले जनही रु पाँच हजार पुरस्कार प्राप्त गरे। यस्तै उदीयमान खेलाडी कटारीका नविन दर्लामी र विडिसा राई घोषित भए।  

नेपाल रग्बी सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताका लागि प्रदेश रग्बी सङ्घ, जिल्ला रग्बी सङ्घ इलाम र माई नगरपालिकाले सहजीकरण गरेको थियो। प्रतियोगितामा पुरूष र महिलातर्फ कोशी प्रदेशबाट कटारी रग्बी क्लब, मधेस प्रदेशबाट बर्दिबास रग्बी क्लब, बागमती प्रदेशबाट हेटौँडा रगर्स, कर्णाली प्रदेशबाट कर्णाली रग्बी क्लब र राष्ट्रिय क्लब हिमालयन टाइगर रग्बी सहभागी भएका थिए।

आगामी अगष्तमा नेपालमा हुने यू–२० एसिया रग्बी सेभेन्सका लागि नेपाली टोली छनोट गर्न प्रतियोगिता आयोजना गरिएको नेपाल रग्बी सङ्घका बरिष्ठ उपाध्यक्ष गिरीले जानकारी दिनुभयो।

प्रकाशित मिति: १६:५९ बजे, शनिबार, जेठ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्