Kathmandu Press

एसिसी इमर्जिङ टिम्स कपका लागि नेपाली महिला टिमको घोषणा

जेठ ३०मा पाकिस्तानसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्ने छ। यस्तै, नेपालले जेठ ३२ मा भारत र असार २मा आयोजक हङकङसँग खेल्ने तालिका छ।
एसिसी इमर्जिङ टिम्स कपका लागि नेपाली महिला टिमको घोषणा

काठमाडाैं, जेठ २६ : हङकङमा आयोजना हुने एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि नेपाली टिमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार साँझ प्रतियोगिताका लागि रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो।

प्रतियोगिता जेठ २९ गतेबाट हङकङमा आयोजना हुनेछ। प्रतियोगितामा टेस्ट राष्ट्रहरु भारत र पाकिस्तानसँगै एउटै समूहमा रहेकाले नेपाली टिमका लागि यो ठूलो अवसर हुनेछ। नेपाली टिममा मलेसियाविरुद्धको सिरिज खेलेकै खेलाडी छन्।

प्रतियोगिताका लागि छनोट भएको थाइल्यान्डले सहभागीता नजनाउने भएपछि नेपालले प्रतियोगिता खेल्ने अवसर पाएको हो।

नेपालको रहेको समूहमा भारत र पाकिस्तानसँगै र हङकङ छ । यस्तै, समूह बीमा बंगलादेश, श्रीलंका, युएई र मलेसिया छन्। प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका यू–२३ र एसोसिएट राष्ट्रको फुल टिम सहभागी हुनेछ।

जेठ ३०मा पाकिस्तानसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्ने छ। यस्तै, नेपालले जेठ ३२ मा भारत र असार २मा आयोजक हङकङसँग खेल्ने तालिका छ। समूहको शीर्ष २मा रहने टिम सेमिफाइनलमा पुग्ने छ।

प्रतियोगिताकै तयारीमा लागि नेपालले अघिल्लो साता मात्र मलेसियामा ५ खेलका टि–२० सिरिज खेलेको थियो । जुन सिरिज नेपाल ३–२ले विजयी भएको थियो।

नेपाली टिम प्रतियोगिताको शनिबार हङकङ प्रस्थान गर्ने क्यानले जनाएको छ। शनिबार बिहान नै क्यानले एक कार्यक्रमबीच नेपाली टिमलाई बिदाई गर्नेछ।

नेपाली टिम : रुविना क्षेत्री, सीता रानामगर, इन्दू बर्मा, कविता कुँवर, विन्दू रावल, ज्योती पाण्डे, सम्झना खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी, सरस्वती चौधरी, अस्मिना कर्माचार्य, इश्वरी विष्ट, अप्सरी बेगम र कविता जोशी ।

प्रकाशित मिति: २०:४६ बजे, शुक्रबार, जेठ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्