मछिन्द्रकाे र एनआरटीकाे जित
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले हिमालयन शेर्पालाई ३–१ गोल अन्तरले पराजित गरेको हो। खेलको २६ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए।
काठमाडाैं, जेठ २४ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबमाथि सहज जित निकालेको छ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले हिमालयन शेर्पालाई ३–१ गोल अन्तरले पराजित गरेको हो। खेलको २६ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए।
पुजन उपरकोटीको क्रसमा विमल घर्ति मगरले हेडरमार्फत उत्कृष्ट गोल गरे। खेलको ६८ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रको अग्रता २–० को बनाए। खेलको ७७ औं मिनेटमा ओलावालेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाए। खेलको ९० औं मिनेटमा हिमालयनका पिस्टोनले फ्रिकिकमार्फत गोल गरेपनि मछिन्द्र ३–१ ले विजयी भयो।
जितसँगै मछिन्द्रले २५ खेलमा ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। हिमालयनले २५ खेलमा ३१ अंक जोडेको छ।
त्यस्तै बुधबार नै भएको खर्को खेलमा न्युरोड टिम एनआरटीले मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ। एनआरटीको जितमा दिपेश आले मगरले खेलको १७ औं मिनेटमा निर्णायक गोल गरे। जितसँगै एनआरटीले २५ खेलमा ३३ अंक जोडेको छ। मनाङको २५ खेलमा ३२ अंक रहेको छ।