पाँच वर्षपछि एक करोड पर्यटक नेपाल आउँछन् : मन्त्री भट्टराई
काठमाडौं, माघ २२ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अबको पाँच वर्षपछि वार्षिक एक करोड पर्यटक नेपालमा भित्रिने बताएका छन्।
....
काठमाडौं, माघ २२ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अबको पाँच वर्षपछि वार्षिक एक करोड पर्यटक नेपालमा भित्रिने बताएका छन्।
बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले तीन ठूला अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि वार्षिक एक करोड पर्यटन नेपाल भित्र्याउने लक्ष्य रहेको बताएका हुन्।
उनले गेम चेन्जर प्रोजेक्टको रुपमा रहेको निजगढ विमानस्थल अबको पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बताएको बताए। अबको तीन महिनाभित्रमा भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको परीक्षण उडान हुने र सन् २०२१ को सुरुमा पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमनास्थल निर्माण हुने उनले बताए।
त्यसपछि पर्यटक घुइचो लाग्ने मन्त्री भट्टराईको भनाइ थियो। ‘अबको पाँच वर्षपछि वार्षिक एक करोड पर्यटक नेपाल आउँछन्,’ मन्त्री भट्टराईले भने।
त्यसका लागि पनि निजगढ विमानस्थल बनाउनु आवश्यक रहेको उनको दाबी थियो। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा विमानस्थलको वैकल्पिक विमानस्थलको रुपमा निजगढ विमानस्थल रहेको उनको भनाइ थियो।
अहिले बन्द रहेका विमानस्थललाई सञ्चालन योग्य बनाउने र हाल सञ्चालनमा रहेका विमानस्थलको क्षमता अझै विस्तार गर्ने उनले बताए। सबै विमानस्थलले नाफा आर्जन गर्नसक्ने गरि भैतिक पूर्वाधार निर्माण गर्ने मन्त्री भट्टराईको भनाइ थियो।











