Kathmandu Press

वडाध्यक्षको हत्या आरोपमा सात पक्राउ

अछाम, माघ २२ : अछामको पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामीको हत्या गरेको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको ....

वडाध्यक्षको हत्या आरोपमा सात पक्राउ

अछाम, माघ २२ : अछामको पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामीको हत्या गरेको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंबाट आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले घटनाको अनुसन्धान सुरू गरेको छ।

मङ्गलबार बिहानदेखि मृतक वडाध्यक्ष धामीको शव र घटनास्थललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान थालिएको थियो।

आज बिहान ७ बजेदेखि कुकुर ट्यापिङसहित घटनास्थल र एक–दुई किलोमिटर वरपरको क्षेत्रमा सर्च गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।

घटनास्थलमा काठमाडौँदेखि आएका सिआइबीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमान्डमा तीन र धनगढीबाट एउटा कुकुरसहित प्रहरी निरीक्षक दीपक पातलीको कमान्डमा ६ जना प्रहरी परिचालन भएका छन् भने अछाम प्रहरीको सम्पूर्ण संयन्त्र परिचालन भएको प्रवक्ता अवस्थीले जानकारी दिए।

मृतक वडाध्यक्ष धामीसँगै सोमबार राति ८–९ बजेसम्म सँगै रहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको अवस्थीले बताए।

घटनाको निष्पक्ष छानबिनको माग गर्दै आज बिहानदेखि विनायक बजार बन्द गरिएको छ। मृतकका आफन्त र स्थानीयवासीले बिहानदेखि सडकमा चक्काजाम गरेका छन्। विनायक बजारका पसलहरु बन्द छन्।

पञ्चदेवल बजारमा बिहानदेखि टायर बालिएको छ भने सवारी आवगमन पनि बन्द छ। वडाध्यक्ष धामीको हत्या भएको दुई दिन बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्।

मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेको गैरीगाउँको भैँसीगोठमा वडाध्यक्ष धामीको शव भेटिएको थियो। ४० वर्षीय धामी शिक्षण पेशाबाट राजीनामा गरेर वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: १४:२२ बजे, बुधबार, माघ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्