पुलिसले मछिन्द्रलाई हरायाे, संकटासँग एफसी खुमलटार पराजित
आइतबार च्यासल मैदानमा भएको खेलमा पुलिसले मछिन्द्रलाई २–१ गोल अन्तरले हराएको हो। खेलको २७औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए।
काठमाडाैं, जेठ २१ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले उपाधि दाबेदार मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ।
आइतबार च्यासल मैदानमा भएको खेलमा पुलिसले मछिन्द्रलाई २–१ गोल अन्तरले हराएको हो। खेलको २७औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए। तर, ७५औं मिनेटमा मोसेस ग्याबाहले फ्रिकिक मार्फत गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ८१ औं मिनेटमा मोसेसले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए।
जितसंगै पुलिसले २४ खेलमा ३७ अंक जोडेको छ। मच्छिन्द्रको २४ खेलमा ३९ अंक रहेको छ। त्यस्तै आइतबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटी र हिमालयनले १–१ गोलको बराबरी खेलेका छन्। खेलको ५२ औं मिनेटमा दिवस उराउले गोल गर्दै हिमालयन शेर्पालाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ५५ औं मिनेटमा दिपेश आले मगरले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए। यस बराबरीसँगै एनआरटीले २४ खेलमा ३० अंक जोडेको छ। हिमालयनले २४ खेलमा ३१ अंक जोडेको छ।
त्यस्तै आइतबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले एफसी खुमलटारलाई ३–० गोल अन्तरले पराजित गर्यो। संकटाको जितमा निशान खड्का, आयुष घलान र चन्दन कुमार दासले एक एक गोल गरे। जितसँगै संकटाले २४ खेलमा ३० अंक जोडेको छ। खुमलटार २४ खेलमा २४ अंक जोडेर पुछारमा रहेको छ।











