माइतीघरमा गुञ्जियो– लुट्न सके लुट...! (भिडियो सहित)
काठमाडौं, फागुन ५ : स्वतन्त्र नागरिक समूहले आइतबार साँझ काठमाडौंको माइतीघर मण्डलामा पशुपति शर्माको विवादित गीत ‘लुट्न सके लुट...’ बजाउँदै अभिव्यक्ति स्वतन्....
काठमाडौं, फागुन ५ : स्वतन्त्र नागरिक समूहले आइतबार साँझ काठमाडौंको माइतीघर मण्डलामा पशुपति शर्माको विवादित गीत ‘लुट्न सके लुट...’ बजाउँदै अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप गर्ने कम्युनिष्ट सरकारको विरोध गरेको छ ।
समूहमा आवद्ध नागरिकहरूले लाउड स्पिकरमा झण्डै आधा घण्टासम्म शर्माको गीत बजाउँदै नाँचेका थिए । शुक्रबारमात्रै सार्वजनिक गरिएको यो गीतले राष्ट्रपति र अन्य नेतालाई लाञ्छना लगाएको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले शर्माको चर्को आलोचना गरेका थिए । लगत्तै, शर्माले यो गीत यूट्यूबबाट हटाउँदै केही केही शब्द र वाक्य परिमार्जन गरेरमात्रै अपलोड गर्ने जानकारी दिएका थिए । स्रोतका अनुसार, प्रधानमन्त्री सचिवालयको निर्देशनमा शर्माले यूट्यूबबाट गीत हटाएका हुन् ।
प्रधानमन्त्री सचिवालयकै दबाबमा शर्मालाई गीत हटाउन बाध्य पारिएको खबर सार्वजनिक भएलगत्तै स्वतन्त्र नागरिक समूहले सरकारी रवैयाको विरोधस्वरुप माइतीघर मण्डलामा ‘लुट्न सके लुट...’ घन्काएको हो । त्यस क्रममा उनीहरूले ‘कम्युनिष्ट सरकार कि पञ्चायत रिर्टनस’ भन्ने नारा पनि लगाएका थिए ।
यसैबीच, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले शर्मालाई ‘लुट्न सके लुट...’ गीत परिमार्जन नगरी जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गरेको छ । शर्माका गीत जस्ताको तस्तै सुन्न पाउनु स्रोताको अधिकार भएको ठहर पनि प्रतिष्ठानले गरेको छ ।