Kathmandu Press

गर्मीले जनजीवन कष्टकर

बिहानैदेखि चल्ने तातो हावाका कारण सर्वसाधारणलाई दैनिक क्रियाकलाप गर्न असहज बन्दै गएको छ। वृद्धवृद्धादेखि बालबालिकासम्मलाई गर्मीका कारण बढी समस्या भएको छ।
गर्मीले जनजीवन कष्टकर

मोरङ, जेठ २१ : मोरङमा केही दिनदेखि गर्मी अत्यधिक बढेको छ। गर्मी ह्वात्तै बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ। 
 
बिहानैदेखि चल्ने तातो हावाका कारण सर्वसाधारणलाई दैनिक क्रियाकलाप गर्न असहज बन्दै गएको छ। वृद्धवृद्धादेखि बालबालिकासम्मलाई गर्मीका कारण बढी समस्या भएको छ। बिहानदेखि घर बाहिर हिँडडुल गर्न मुस्किल भएको छ।

गर्मीबाट बच्नका लागि सर्वसाधारणले मात्र नभइ पशुपन्छीले पनि छहारी खोज्न थालेका छन्। केही दिनदेखि विराटनगरको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसदेखि ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ।  

विद्यार्थी र मजदुर बढीजसो चर्को घामको मारमा परेका छन्। गर्मीका कारण पठनपाठन प्रभावित बनेको छ। केही स्थानीय तहले गर्मी बढेपछि विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। विराटनगर–२ स्थित जनता नमूना माविकी आस्मिन खातुन घामबाट बच्न दैनिक छाता ओढेर विद्यालय जाने गरेको बताउँछन्। 'कक्षाकोठामा बसेर पढ्ना असिनपसिन भइन्छ,' उनले भने, 'गर्मीका कारण पसिना चुहिएर किताब कापी भिज्छन्।'
 
विराटनगर–५ स्थित किड्स भिलेजका प्राचार्य विजय दाहालले अत्यधिक गर्मीका कारण विद्यार्थी बिरामी पर्न थालेका बताउनुभयो। उनले भने, 'गर्मीले विद्यार्थी कक्षामा बस्नै सक्दैनन्। कतिपप विद्यार्थीको नाथ्री फुटेर नाकबाट रगत बग्दा घरबाट अभिभावकलाई बोलाउनु परेको छ।' 

Hardik ivf

विराटनगर–२ स्थित पोखरिया माविका प्राचार्य खेमराज भट्टराईले बढ्दो गर्मीका कारण विद्यालयमा पठनपाठन असहज बन्दै गएको बताए। 'विद्यालय आउने विद्यार्थीको सङ्ख्या दैनिक घट्दै गएको छ,' उनले भने। 

यस्तै विराटनगर–३ सुकन्या मार्गका विमल कोइराला गर्मीले सताएको बेला बेला बेलामा बिजुली जाँदा झन समस्या भएको बताउँछन्। बेलाबेलामा विद्युत् अवरूद्ध हुँदा रातभर जाग्राम बस्नु परेको उनको भनाइ छ।

बर्जु गाउँपालिकाका रिक्सा चालक जयराम रायले गर्मीका कारण यात्रु भेटिन छाडेको बताउनुभयो। गर्मीका कारण आम्दानी ह्वात्तै घटेको रायले बताए।  

कोशी अस्पताल आकस्मिक विभागका चिकित्सक डा राकेश यादवले गर्मीका कारण बिरामीको चाप बढेको बताउनुभयो। दैनिक एक सयदेखि दुई सयको हाराहारीमा झाडावान्ता, भाइरल ज्वरो, नाकबाट रगत बग्ने, एलर्जी लगायतका रोगका बिरामी आउने गरेको बताए।

डा. यादवले गर्मीका बेला सकेसम्म घरबाट बाहिर ननिस्कन सुझाव दिए। बढ्दो चापका कारण एउटै बेडमा तीन जनासम्म बिरामी राख्नुपर्ने बाध्यता रहेको बताए। विराटनगर महानगरपालिकाले गर्मी बढेपछि यही जेठ १८ र १९ गते नगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक एवम संस्थागत विद्यालय बन्द गरेको थियो।

प्रकाशित मिति: १६:५६ बजे, आइतबार, जेठ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्