अब नेकपाले दुई तिहाइ ल्यायो, ल्यायो : प्रधानमन्त्री ओली
काठमाडौं, माघ २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपाले दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन्।
मंगलबार अखिल नेपाल महिला ....

काठमाडौं, माघ २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपाले दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन्।
मंगलबार अखिल नेपाल महिला सङ्घको एकता घोषणा तथा केन्द्रीय समितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले विकासनिर्माणलाई गति दिएको बताए। जसले गर्दा आगामी आम निर्वाचनमा दुई तिहाइ ल्याउनबाट नेकपालाई कसैले रोक्न नसक्ने जिकिर गरे।
सरकारले केही गरेन भनेर भ्रम फैलाउन खोजिएको उनको आरोप थियो। भ्रमको कुनै असर नपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘म खुलारुपमा भन्न चाहन्छु, अब नेकपाले दुई तिहाइ ल्यायो, ल्यायो। कसैले रोकेर रोकिँदैन। रोक्नका लागि तयारी गर्नुछ भने लागे हुन्छ।’
उनले पार्टीभित्र सबै नेताहरु एकता र एकमतका साथ मुलुकको समृद्धिको लक्ष्य लिएर अघि बढेकाले कतिपय सञ्चारमाध्यमले चलाएको भ्रममा परेर को बहुमत र को अल्पमतमा भन्नेतिर नलागी न्यायपूर्ण र समतामूलक समाज निर्माणमा लाग्न आग्रह गरे। ‘पार्टीमा अध्यक्ष छु। प्रधानमन्त्री छु। निर्णयहरु एकता र सहमतिका साथ गरिएको छ। को बहुमत र अल्पमतमा भन्ने खुद्रामसिना कुरामा हाम्रो ध्यान छैन,’ उनले भने।
आफूले पछिल्लो समयमा नेतृत्व गरेको सरकारका राम्रा कामको केही झलक हालै सम्पन्न पार्टीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकमा प्रस्तुत गरेको बताउँदै उनले त्यसलाई अध्ययन गरी प्रचार गर्न पनि महिला नेत्रीलाई आग्रह गरे।
उनले छाउपढी जस्ता कुप्रथा अन्त्यका लागि मनमस्तिष्कदेखि लाग्नुपर्ने आग्रह गर्दै विद्रोह र सङ्घर्षलाई सही बाटाका साथ सङ्घर्ष र मेलमिलापबाट रुपान्तरणमा ल्याउन आवश्यक रहेको पनि बताए। नेकपाबाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलकरुपमा काम गर्न नसक्ने ठोकुवा गरे।
नेकपाले नै सङ्घर्ष गरेर हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता स्थापित गरेको उनको भनाइ थियो। पार्टीका महिला नेताकार्यकर्तालाई आफ्नो सङ्गठन नै बलशाली ठानेर यसैबाट परिवर्तन र रुपान्तरण सम्भव छ भनेर लाग्न जोड दिँदै ओलीले भने, ‘परिवर्तन र कम्युनिष्टविरोधी महिला संस्था वा अन्तर्राष्ट्रिय संस्थाहसँग सहकार्य गरेर महिला अधिकार स्थापित हुन्छ भन्ने पूर्ण सत्य होइन। यो काम हाम्रो सङ्गठनले मात्रै गर्न सक्छ।’
सङ्घको एकतापछि चार हजार ४७५ सदस्यीय केन्द्रीय समितिका सदस्यले आज शपथ ग्रहण गरेका छन्। सङ्घका अध्यक्ष अमृता थापाले अब आफूहरु छिट्टै जिल्ला तहको एकतामा जाने जानकारी दिइन्।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
