चीनबाट नेपाली ल्याउन तयारी भइरहेको छ : मन्त्री ढकाल
काठमाडौं, माघ २१ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले चीनको वुहानमा रहेका नेपालीलाई ल्याउन तयारी भइरहेको बताएका छन्। यसका लागि गृहकार्य भइ....

काठमाडौं, माघ २१ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले चीनको वुहानमा रहेका नेपालीलाई ल्याउन तयारी भइरहेको बताएका छन्। यसका लागि गृहकार्य भइरहेको उनको भनाइ छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सार्वजनिक महत्वको विषय कोरोना भाइरसबाट बच्नका लागि सरकारले लिएको पहलकदमीबारे उनले जानकारी दिएका हुन्। अहिलेसम्म चीनबाट फर्केका १३ विद्यार्थीमा परीक्षण गरिएको र नेगेटिभ देखिएको उनले बताए।
स्वास्थ्यमन्त्री ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल बनेको छ। मन्त्री ढकालले उक्त भाइरसबाट सतर्क रहनका लागि विज्ञापन सामग्री बनाएको र प्रत्येक दिन बेलुका सञ्चारकर्मीसँग ब्रिफिङ गर्ने तयारीसमेत गरेको जानकारी दिए।
चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्तमा तथा विश्वका २३ मुलुकमा फैलिएको छ। विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा अहिले १७ हजार ३५१ मा सो भाइरस देखिएको छ।
त्यसमध्ये १७ हजार भाइरस चीनकै नागरिकमा देखिएको छ। सो भाइरसका कारण चीनमा चार सय २६ जनाको मृत्यु भएको छ।
मन्त्री ढकालले सरकारले कोरोना भाइरसका बारेमा आम नागरिकलाई सचेतनाका लागि रुघाखोकी लागेको व्यक्तिसँग नजिक नजाने र साबुनपानीले हात धुनेबारेमा जानकारी दिँदै सो भाइरस चिसामा बढी आक्रमण र गर्मीमा सुषुप्त बस्ने देखिएको बताए। ‘सरकारले कोरोना भाइरसबाट बच्ने तयारी गरिरहेको छ, सोमबारको मन्त्रिपरिषद्को बैठकले पनि त्यसकै विषयमा गम्भीर छलफल गर्यो,’ मन्त्री ढकालले भने, ‘अरु रोगभन्दा फरक खालको छ, बिरामी सिकिस्त देखिँदैन, दुईदेखि १४ दिनसम्म सङ्क्रमित हुनसक्छ।’
उनले चीनबाट नेपाल आउन चाहने नेपालीलाई ल्याउने तयारी गरेको बताएका छन्। मन्त्री ढकालका अनुसार कोरोना भाइरसको सङ्क्रमण देखिएकाबाहेक आउन चाहने नेपालीलाई सरकारले विलम्ब नगरी ल्याउने तयारी भइरहेको छ।
‘परीक्षण गर्दा पोजेटिभ देखिएमा चीन सरकारले नेपाल पठाउँदैन,’ मन्त्री ढकालले भने, ‘नेपाल आउन चाहने १८० ले चीनस्थित नेपाली दूतावासमा फारम भरेका छन्।’
उनका अनुसार नेपालमा ल्याएपछि १४ दिनसम्म परीक्षणमा राखिनेछ। ‘भाइरस नदेखिएपछि सार्वजनिक भेटघाटका लागि जान दिन्छौँ,’ मन्त्री ढकालले भने, ‘सरकारले उक्त भाइरस सङ्क्रमणका लागि तीन अस्पताल र ४३ शय्याको व्यवस्था गरेको छ। पोखरा, चितवन र भैरहवामा हेल्थ डेक्सको व्यवस्था गरेको छ। रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिममा राखेर हामीले काम गरेका छौँ।’
मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमा रहने गरी ३०० शय्यासम्मको अस्पताल बनाउने र भविष्यका लागि यस्ता जोखिमबाट बच्नका लागि अस्पताल बनाउने तयारीमा रहेको जानकारी दिए।
बैठकमा दिव्यमणि राजभण्डारी, मोहम्मद इस्तियाक राई, दिलेन्द्रप्रसाद बडू, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, कृष्णभक्त पोखरेल, डिला सङ्ग्रौलासहित १४ सांसदले कोरोना भाइरस रोकथामका लागि कार्यक्रम ल्याउनुपर्ने र चीनबाट आउन चाहने नेपाली नागरिकलाई जतिसक्दो छिटो ल्याउनुपर्नेमा जोड दिए।
मन्त्री ढकालले सांसदहरुको प्रश्नको जवाफ दिँदै विमानस्थलमा आएका व्यक्तिलाई परीक्षणका लागि हेल्थडेक्स राखेको र डाक्टरको नेतृत्वमा २४ घण्टाकै सेवा तथा अस्पतालसम्म लानका लागि एम्बुलेन्स तयारी रहेको बताए। जुनसुकै मुलुकबाट आएका व्यक्तिको परीक्षण गर्ने व्यवस्था गरेको उनको भनाइ थियो।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
