चर्च बोइज ऐतिहासिक उपाधितर्फ अग्रसर
पहिलो सिजन नै च्याम्पियन बन्ने लक्ष्यसहित स्टार खेलाडी अनुबन्धन गरेको चर्च बोइज त्यही बाटोमा अग्रसर छ ।
काठमाडाैं, जेठ २० : चर्च बोइज युनाइटेड ए डिभिजन लिगको उपाधितर्फ अग्रसर भएको छ। शनिबार साँझ दशरथ रंगशालामा भएको खेलमा जावलाखेल युथ क्लबलाई ३–०ले हराउँदै चर्च बोइज उपाधितर्फ अग्रसर भएको हो।
लिगको २ चरणको मात्र खेल बाँकी रहँदा ४४ अंकसहित चर्च बोइज शीर्ष स्थानमा छ। बाँकी २ खेलमा ४ अंकमात्र जोड्न सके चर्च बोइज ए डिभिजन लिगमा बढुवा भएकै पहिलो सिजन नै च्याम्पियन बन्ने छ। ३९ अंक जोडेको मछिन्द्रले उसलाई पछ्याइरहेको छ। उसले ३ खेल खेल्न बाँकी छ।
पहिलो सिजन नै च्याम्पियन बन्ने लक्ष्यसहित स्टार खेलाडी अनुबन्धन गरेको चर्च बोइज त्यही बाटोमा अग्रसर छ । उसले अञ्जन विष्ट, अनन्त तामाङ, एरिक विष्ट, दिनेश राजवंशीजस्ता स्टार खेलाडी अनुबन्धन गरेको थियो । तर, दिनेश भने लिग सुरु नहुँदै अस्ट्रेलिया लागेका थिए।
चर्च बोइजलाई जित दिलाउन आशिष चौधरीले २ गोल गरे भने अर्को गोल अन्जन विष्टको नाममा रह्यो। उसले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो।
पहिलो हाफको इन्जुरी समयमा चर्चा बोइजले अग्रता लियो । उसका लागि अन्जन विष्टले गोल गरेका थिए । जावलाखेलका डिफेन्डर राहुल राहुलले चर्च बोइजका रंजितसिंह पान्द्रेलाई फाउल गरेपछि चर्च बोइजले पेनाल्टी पाएको थियो ।
अन्जनको पेनाल्टी जावलाखेलका गोलकिपर ईश्वर गुरुङले बचाएएका थिए। तर, त्यसैको रिबाउन्ड अन्जनले गोल गरेका थिए।
८८ औं मिनेटमा आशिषले टिमको अग्रता दोब्बर बनाए। उनले कमल श्रेष्ठको क्रसमा हेडिङमार्फत गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी समयमा आशिषले नै गोल गरेपछि चर्च बोइजले सहज जित निकाल्यो।
यो सिजन आश्चर्यजनक रुपमा राम्रो प्रदर्शन गरेको जावलाखेल ३७ अंकका साथ तेस्रो स्थानमा छ।











