कोरोना भाइरसको शंका लागे अस्पताल लैजान होटलहरुलाई परिपत्र
काठमाडौं, माघ २१ : महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संकेत देखिएमा तत्काल अस्पताल लैजान होटल एसोसिएसन अफ नेपाल (हान)ले सबै होटललाई परिपत्र गरेको ....

काठमाडौं, माघ २१ : महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संकेत देखिएमा तत्काल अस्पताल लैजान होटल एसोसिएसन अफ नेपाल (हान)ले सबै होटललाई परिपत्र गरेको जनाएको छ।
मंगलबार हान र नेपाल भ्रमण वर्ष सचिवालयले आयोजना गरेको पत्रकार सम्मेलनमा हानका अध्यक्ष सिर्जना राणाले अहिलेसम्म कुनै पनि होटलमा भाइरसका संकेत नदेखिएको बताइन्। त्यस्तो संकेत देखिए तत्काल अस्पताल लैजान सबै होटललाई परिपत्र गरिएको उनले बताइन्।
‘पछिल्लो केही सातादेखि कोरना भाईरसले नेपालको पर्यटन क्षेत्रमा केही असर गरेको छ,’ राणाले भनिन्, ‘तर, आत्तिनु पर्ने अवस्था भने छैन। जनवरी महिनामा चिनियाँ पर्यटकको संख्यामा कमी आएपनि आगामी दिनहरुमा पर्यटकको संख्यामा बृद्धि हुनेछ।’
नेपाल भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज बैधले सुरुआती चरणमै आशा गरिएको स्थानमै समस्या भएको बताए। भाइरसको विश्वभर प्रभाव देखिएकाले अबको तीन महिना नेपाल पर्ख र हेरको अवस्थामा बस्ने र त्यसपछि केही नयाँ कदम चाल्ने उनले बताए।
‘चिनियाँ नयाँ वर्षमा भाइरलको समस्या भएपनि चिनियाँ पर्यटकलाई बुद्व जयन्तीमा नेपाल ल्याउन सकिन्छ। उनिहरुलाई नेपाल ल्याउन नयाँ कार्यक्रम तय गरिन्छ,’ उनले भने।
नेपाल अहिले पर्यटकको लागि सुरक्षित गन्तव्य रहेको र यदि भाइरसको संक्रमित देख्ने वितिकै तत्काल एक्सनमा जान समेत तयार रहेको हानका बरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए। उनका अनुसार हानले दैनिक आफ्ना सदस्य होटलको अवस्थाबारे अनुगमन गरिरहेको छ।











