एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो : परराष्ट्रमन्त्री
गुल्मी, माघ २१ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसीविरुद्ध बाहिर आएका कुरा अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन्।
सरकार....

गुल्मी, माघ २१ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसीविरुद्ध बाहिर आएका कुरा अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन्।
सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेको बताउँदै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्टसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने मन्त्री ज्ञवालीको भनाइ थियो।
मंगलबार प्रेस सङ्गठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालको राष्ट्रिय हित, जनताको लाभ र देशको विकास जेमा हुन्छ सरकार त्यसैमा अघि बढ्ने बताए। ‘एमसिसीको विस्तृत रूप (फुलफर्म) थाहा नभएकाहरुले यसका विरुद्धमा बजारमा बहस शुरु गरेका छन्,’ उनले भने।
उनले चुइगम चपाउँदा रस सकिएर दाँतमा टाँसिने र त्यसको कुनै स्वाद नहुने जस्तै प्रकृतिको बहस एमसिसीबारे अहिले बजारमा चलिरहेको बताए।
उनले सरकारले आत्मविश्वास बढेको बताए। ‘दुई वर्षको कार्यसम्पादनबाट वर्तमान सरकारको आत्मविश्वास बढ्दै गएको छ,’ उनले भने। जनताले वर्तमान सरकारलाई ठूलो जिम्मेवारी सुम्पिएको उल्लेख गर्दै उक्त जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न सरकार दृढ रहेको उनको भनाइ थियो।











