ओली सरकारले अर्थतन्त्र धरासयी बनायो : कांग्रेस
काठमाडौं, फागुन ५ : वर्तमान सरकारले अर्थतन्त्र धरासयी अवस्थामा पुर्याएकाे भन्दै कांग्रेसले चिन्ता व्यक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ....
काठमाडौं, फागुन ५ : वर्तमान सरकारले अर्थतन्त्र धरासयी अवस्थामा पुर्याएकाे भन्दै कांग्रेसले चिन्ता व्यक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अर्थतन्त्रको जगलाई समेत ध्वस्त बनाएको उसको आरोप छ ।
कांग्रेसले आइतबार पत्रकार सम्मेलन गरेर पुँजीगत खर्च बढ्न नसक्नु, बैदेशिक लगानी खुम्चनु, सोधानान्तर घाटा बढ्दै जानु जस्ता नकरात्मक सूचकले मुलुकको अर्थतन्त्र गम्भीर मोडमा पुगेको ठहर गरेको छ ।
बलियो सरकार भनिए पनि पुंजीगत खर्च २२.८७ प्रतिशत मात्रै हुनुले समृद्धिको नारा गफमा मात्रै सीमित भएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले आफ्नो नेतृत्वको सरकारको पाँच महिनामा ११.१२ अर्ब बैदेशिक लगानी भित्रिएको बताउँदै कम्युनिष्ट सरकार बनेपछिको पहिलो पाँच महिनामा जम्मा ६.७८ अर्ब विदेशी लगानी मात्रै भित्रिएको जनाएको छ । ‘बाह्य मुद्राको सञ्चीति कांग्रेस सरकारको प्रथम छ महिनामा १० खर्व ६७ अर्व थियो भने वर्तमान सरकारको प्रथम छ महिनामा झण्डै १० अर्व घटेर १० खर्व ५८ अर्व रहेको छ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘एघार महिनाको आयात धान्ने अवस्थाबाट आठ महिना धान्ने स्थितिमा पुर्याएर मुलुकलाई आर्थिक रुपमा धराशयी बनाएको छ ।’
कांग्रेस नेतृत्वको सरकारको प्रथम ६ महिनामा भन्दा व्यापार घाटा भण्डै दुई खर्वले बढेकोमा वर्तमान सरकारको ६ महिनामा त्यसबेला ४.९३ खर्व थियो व्यापार घाटा अहिले ६.७८ खर्व पुगेकोमा आत्मनिर्भर अर्थतन्त्रलाई जिज्याइरहेको आरोप कांग्रेसले लगाएको ।
सहज राजनैतिक वातावरण र दुई तिहाईको स्थिर सरकार भएको समयमा बजार मूल्य नियन्त्रीत हुनुपर्नेमा शुरुवाती ६ महिनामा तुलानात्मक रुपले कांग्रेस सरकारको पालामा भन्दा एकातर्फ वजार भाउ वृद्धि भएको छ भने अर्कातर्फ तरकारी किसानहरुले बजार मुल्य उपयुक्त नपाएर बारीमै ट्याक्टर लगाएर तरकारी नष्ट गरेको पीडाका दृष्य र समाचार सार्वजनीक भएको आरोप लगाएको छ ।
शोधानान्तर घाटा चरम चुलीमा उक्लीएको छ । कांग्रेस सरकारको शुरुवाति पाँच महिनामा ९ अर्व रहेको शोधानान्तर घाटा वर्तमान सरकारको पाँच महिनामा ८५ अर्व नाघेकोले पनि मुलुकको अर्थतन्त्र खराव तथ्यांकले देखाएको कांग्रेसले आरोप लगाएको छ ।
अर्थतन्त्रको ‘पल्स’ मानिने शेयर बजार यो सरकार आएपछि क्रमश धाराशायी हुँदै गएको छ । स्थानीय चुनावको मुखमा नेप्से १७०० कटेको थियो । पछि १५२० मा रहेको नेप्से कम्युनिष्ट सरकार बनेपछि १३८०, ११२८ हुँदै यो सरकारले एक वर्ष पुरा गरेको फागुन २ मा आइपुग्दा १११२ मा झर्नुले समृद्धि टाढा गएको आरोप का्रग्रेसले लगाएको छ ।






