धनुषामा २२ वर्षीया युवतीको हत्या, एकै परिवारका चार पक्राउ
धनुषा, माघ २० : सामान्य विवादमा धनुषाको ओरही गाउँपालिका–२ की २२ वर्षीया चिन्तामणि पासवानको हत्याको आरोपमा श्रीमानसहित चार जना पक्राउ प....

धनुषा, माघ २० : सामान्य विवादमा धनुषाको ओरही गाउँपालिका–२ की २२ वर्षीया चिन्तामणि पासवानको हत्याको आरोपमा श्रीमानसहित चार जना पक्राउ परेका छन्।
माघ १८ गते चिन्तामणि र उनकी नन्द पुनिता पासवानबीच मोबाइलका विषयमा विवाद भएको थियो। त्यही विषयमा झगडा भएपछि उनका पति अनिल पासवानले घाँटी थिचेका थिए। घाँटी थिच्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसपछि उनीहरुले डोरीमा झुण्ड्याएको प्रहरी अनुसन्धानमा खुलेको छ। उनी झुण्डिएको भन्दै रिक्सामा राखेर अस्पताल लगेका थिए। त्यसबारे स्थानीय बासिन्दाले प्रहरीलाई सूचना दिएका थिए। प्रहरीले प्रादेशिक अस्पतालको आकस्मिक कक्षमै पुगेर शव नियन्त्रणमा लिएको थियो।
अनुसन्धान गर्दै जाँदा चिन्तामणिकै परिवारजन हत्यामा संलग्न रहेको प्रहरीले पाएको थियो। त्यसपछि उनका श्रीमान अनिल, ससुरा राधाकृष्ण, सासु कमला र नन्द पुनितालाई पक्राउ गरेको हो। उनीहरूलाई जनकपुर महानगरपालिका–४ पेठिया बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चारै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
