Kathmandu Press

रेशम चौधरीलाई आममाफी

मन्त्रिपरिषद्ले गरेको सिफारिसका आधारमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ।
रेशम चौधरीलाई आममाफी

काठमाडौं, जेठ १४ : टीकापुर घटनामा दोषी ठहर भएरपछि जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीले आममाफी पाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसका आधारमा गणतन्त्र दिवसका आवसरमा कैद सजाय माफी दिएका हुन् ।

मन्त्रिपरिषद्ले गरेको सिफारिसका आधारमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०२/१२ र २०८०/०२/१४ का बैठकका सिफारिस अनुसार टोपबहादुर बुढासमेतका १९ जना व्यक्तिहरुलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८०को उपलक्ष्यमा माफी भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

टिकापुर घटनामा मुछिएका चौधरीलाई तीनै तहको अदालतले जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो। उनलाई आममाफी दिन आइतबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

आजै रेशम चौधरीलाई आममाफी दिन सरकारले गरेको सिफारिसविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ। टिकापुर घटनामा मारिएकी प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कठायतले सर्वोच्चमा रिट पेश गरेकी हुन्।

प्रकाशित मिति: १९:१३ बजे, आइतबार, जेठ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्