रेशम चौधरीको आममाफी सिफारिसविरूद्ध सर्वोच्चमा रिट
२०७२मा टिकापुरमा भएको आन्दोलनका पीडित परिवारका तर्फबाट शारदा कठायतले रिट दिएकी हुन्। रिटमा उक्त सिफारिस खारेज गर्न माग गरिएको छ।
काठमाडौं, जेठ १४ : टीकापुर घटनामा दोषी ठहरभइ कैद भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी दिन सरकारले सिफारिसविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ।
२०७२ सालमा टिकापुरमा भएको आन्दोलनका पीडित परिवारका तर्फबाट शारदा कठायतले रिट दिएकी हुन्। रिटमा उक्त सिफारिस खारेज गर्न माग गरिएको छ। रिट फाँटमा पेश भएपनि दर्ता हुने नहुने विषय विचाराधीन अवस्थामा रहेको सर्वोच्च प्रशासनले जनाएको छ।
चौधरीलाई सजाय माफी दिने सिफारिस गर्न मन्त्रिपरिषदले गरेको निर्णय खारेज गरि पीडितलाई न्याय र दण्डहिनताको अन्त्य गर्न रिटमा माग छ।
आइतबारको मन्त्रिपरिषद बैठकले चौधरीलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषदको सिफारिसअनुसार गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई माफी दिने तयारी छ।
सरकारको सिफारिस बदर गर्न माग राखेर पीडितबाट रिट परेको हो। २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसामा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी र १ जना बालकको ज्यान गएको थियो।
उक्त घटनामा चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए । गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर हुने निर्णय गरेको थियो।
शारदा कठायत टिकापुर घटनामा मारिएकी प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती हुन्।