Kathmandu Press

भारत र काजखस्तानबीच उपाधि भिडन्त, तेस्रो स्थानको लागि नेपालले उज्वेकिस्तानसँग खेल्दै

घरेलु टोली नेपाल र उज्वेकिस्तान बीचको खेल बिहान ११ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुनेछ । सेमिफाइनलमा पराजित टोलीबीच तेस्रो स्थानका लागि खेल हुन लागेको हो ।
भारत र काजखस्तानबीच उपाधि भिडन्त, तेस्रो स्थानको लागि नेपालले उज्वेकिस्तानसँग खेल्दै

काठमाडौं, जेठ १४ : काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले आज तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

घरेलु टोली नेपाल र उज्वेकिस्तान बीचको खेल बिहान ११ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुनेछ । सेमिफाइनलमा पराजित टोलीबीच तेस्रो स्थानका लागि खेल हुन लागेको हो ।

काजखस्तानसँग नेपाल पाँच सेटमा पराजित भएपछि फाइनल पुग्न असफल भएको थियो । पहिलो सेट गुमाएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेलमा अग्रता बनाएको थियो । तर चौथो र पाँचौ सेटमा लय गुमाउँदा घरेलु समर्थक निराश बने ।

अर्को सेमिफाइनलमा उज्वेकिस्तानको चुनौती भारतले सोझो सेटमा पन्छाएको थियो । सन् २०२१ मा सेन्ट्रल जोनको उपाधि जित्दा नेपालले उज्वेकिस्तानलाई पराजित गरेको थियो । यान डि ब्रान्डको प्रशिक्षण र अरुणा शाहीको कप्तानीमा रहेको नेपाल तेस्रो हुँदै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा छ ।

यो खेलपछि नेपाल एसियाली खेलकुदको तयारीमा जुट्नेछ । नेपालको महिला भलिबल टिमले पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाउन लागेको हो । उपाधिका लागि आजै भारत र काजखस्तान आमनेसामने हुनेछन् ।

फाइनल खेल अपराह्न ४ बजेपछि सुरु हुनेछ । प्रतियोगितामा ८ राष्ट्र सहभागी भएका थिए । जसमा श्रीलंका पाँचौँ, कीर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बंगलादेश आठौँ स्थानमा रहे । 

प्रकाशित मिति: ०९:०३ बजे, आइतबार, जेठ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्