आर्मीसँग रोकियो मछिन्द्र, एपिएफले जावलाखेललाई हरायो
शनिबार ललितपुरस्थीत च्यासल मैदानमा भएको खेलमा उपाधि होडमा रहेको मछिन्द्र क्लब विभागीय टिम त्रिभुनव आर्मी क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
काठमाडौं, जेठ १३ : सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लब बराबरीमा रोकिएको छ।
शनिबार ललितपुरस्थीत च्यासल मैदानमा भएको खेलमा उपाधि होडमा रहेको मछिन्द्र क्लब विभागीय टिम त्रिभुनव आर्मी क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
खेलको १७ औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६० औं मिनेटमा आर्मीका युद्द शाहीले आत्मघाती गोल गरेपछि मछिन्द्र हारबाट जोगिएको हो।
दोस्रो स्थानमा रहेको मछिन्द्रको यो लगातार तेस्रो बराबरी हो। मछिन्द्रले २२ खेलमा ३६ अंक जोडेको छ। आर्मी भने ३० अंकसहित चौथो स्थानमा छ।
त्यस्तै शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा एपीएफले जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
खेलको २३औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा आवास लामिछाने गोल गर्दै एपीएफलाई २–० को जित दिलाए ।
जितसँगै एपीएफले २२ खेलमा २९ अंक जोडेको छ भने जावलाखेलको २२ खेलमा ३४ अंक छ ।











