ए डिभिजन क्लबले भने– एन्फाले हामीमाथि अन्याय गर्यो
ए डिभिजन लिग खेलिरहेका १० क्लबले संयुक्त पत्रकार सम्मेलन गर्दै क्लबहरुलाई पैसा नदिएको, लिग व्यवस्थित गर्न नसकेको भन्दै एन्फाको विरोध गरेका छन्।
काठमाडाैं, जेठ १२ : ए डिभिजन क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफहुरुमाथि अन्यायन गरेको बताएका छन्। लिग सकिन लाग्दा पनि एन्फाले दोस्रो किस्ताको रकम नदिँदा आफूहरु अन्यायमा परेको क्लबहरुले दुःखसेको गरेका छन्।
ए डिभिजन लिग खेलिरहेका १० क्लबले संयुक्त पत्रकार सम्मेलन गर्दै क्लबहरुलाई पैसा नदिएको, लिग व्यवस्थित गर्न नसकेको भन्दै एन्फाको विरोध गरेका छन्।
एन्फाले दोस्रो किस्ताको तयारी खर्च, खेलको म्याच मनि, म्याच बल, खेलाडीले पाउनु पर्ने म्यान अफ दि म्याच रकम एन्फाले अहिलेसम्म नदिएको क्लबहरुले आरोप लगाए । ‘हामीले यी विषयबारे दुई पटक ज्ञापन पत्र दिइसकेका छौं। त्यसपछि सात दिनमा दिन्छु भनेको तयारी रकम अहिलेसम्म दिएको छैन। हामीले इभिनिङ खेल बढाउनका लागि गरेको प्रस्ताव जेनेरेटरको तेल किन्नपर्छ भनेर गरेको छैन । यस्तो पाराले कसरी फुटबल चल्छ ?,’ संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधारले भने।
एन्फाले अनुदानको रकमले मात्र फुटबल चलाउने खोजेको आरोप लगाए । उनले एन्फाले लिगका लागि इस्पोन्सर नखोजी फिफा र एएफसीले दिएको अनुदानबाट मात्र लिग चलाउने खोजिएको बताए। उनले आफूहरुले एन्फासँग अनुदान नमागेको पनि बताए।
‘फिफा र एएफसीको पैसा हामीले मागेको होइन, प्रायोजन, गेट कलेक्सन, टिभि प्रायोजनबाट आएको पैसा मागेको हो। किनभने, त्यो हामीले खेलेर ल्याएको पैसा हो,’ उनले भने, ‘१५ लाख आयो, त्यसपछि आएको छैन। अन्यायमा पर्यौं, सात दिनमा दिन्छु भनेको पैसा आएको छैन ।’
अहिले लिग चलिरहेकाले आफूहरु नरचभ भएपछि लिग सकिएपछि एन्फाविरुद्ध कठोर कदम चाल्ने उनले बताए ।
यस्तै एन्फाका पूर्वअध्यक्ष तथा हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ शेर्पाले म्यानेजमेन्टको कमजोरीले गर्दा एन्फाको यो अवस्था आएको बताए। उनले फुटबल सुन भएपनि एन्फाले बेच्न नसकेको आरोप लगाए।
‘गैडाको छालाभन्दा पनि कडा संस्था भयो । लिग सकिए पनि पैसा आउला जस्तो लाग्दैन। ए डिभिजन कै हालत यस्तो छ, बी सी डिभिजन लिगको विश्वास कसरी गर्ने ?,’ शेर्पाले भने, ‘योजनावद्ध तरिकाले प्रपोजल बनायो भने लगानी गर्ने भेटिन्छm तर उचित व्यवस्थापन नहुँदा फुटबल ओरालोतर्फ लागेको हो।’
पत्रकार सम्मेलनमा मछिन्द्र क्लबका सचिव किरण महर्जन, एफसी खुमलटारका उपाध्यक्ष हरिबोल राउत, मनाङ मर्स्याङ्दीका अध्यक्ष विजय घले, एनआरटीका महासचिव नरेन्द्रमान श्रेष्ठ, फ्रेन्ड्सका अध्यक्ष विश्वास विक्रम साह, सातदोबाटोका अध्यक्ष कपिलकिशोर मगर, चर्च ब्वाइज युनाइटेडका अध्यक्ष टंकलाल राई र थ्री स्टार क्लबका सहकोषाध्यक्ष देवेन्द्रलाल श्रेष्ठ उपस्थित थिए।











