Kathmandu Press

सार्वजनिक यातायातको भाडा घट्यो

सार्वजनिक यातायातको भाडा घट्यो
Hardik ivfHardik ivf

काठमाडौँ, जेठ १२ः काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक गाडीको भाडा घटाएको हो ।

नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित भएको जनाइएको छ । काठमाडौँ उपत्यकाभित्र ५.९ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५.६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए ।

यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडी भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ ।

गत चैत २० गते डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १० रूपैयाँ र पेट्रोलमा तीन रूपैयाँ मूल्य घटाएको निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा फेरि प्रतिलिटर १० रूपैयाँले भाउ घटाएको थियो ।

घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको १५५ रूपैयाँ कायम भएको छ । अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको भाडा बढेको थियो । बढेको भाडाअनुसार यात्रुले काठमाडौँ उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै २० रूपैयाँ तिर्दै आएका छन् ।
 

प्रकाशित मिति: १०:४२ बजे, शुक्रबार, जेठ १२, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्