कोरोना भाइरसको प्रभाव : नेपालमा हुन थाल्यो मास्कको अभाव
काठमाडौं, माघ १९ : चीनबाट सुरु भएको कोरोना भाइरसको जोखिम विश्वव्यापी फैलिन थालेपछि नेपालमा मास्कको अभाव हुन थालेको छ।
कोरोना ....
काठमाडौं, माघ १९ : चीनबाट सुरु भएको कोरोना भाइरसको जोखिम विश्वव्यापी फैलिन थालेपछि नेपालमा मास्कको अभाव हुन थालेको छ।
कोरोना भाइरसबाट जोगिन सबैभन्दा सुरक्षित मानिने एन ९५ नामक मास्कमात्रै नभएर साधारण पेपर मास्कको समेत बजारमा अभाव देखिन थालेको छ। मास्क बिक्रेताका अनुसार, कोरोना भाइरस देखिनु अघि मास्कको माग खासै थिएन। तर, पछिल्लो एक सातामा सामान्य र एन ९५ मास्कको माग अत्यधिक बढेको छ।
त्रि.वि. शिक्षण अस्पताल नजिकै रहेको समग्र फर्मामा कार्यरत सबिना मियाँ भन्छिन्, ‘चीनमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि नेपालमा मास्कको माग ह्वात्तै बढेको छ। सुरुमा त मास्कको बट्टै किन्ने ग्राहक धेरै आए। त्यसैले अहिले मास्कको अभाव छ।’
विगतमा दैनिक लगभग १० वटा मात्रै पेपर मास्कहरु बेचिरहेकोमा पछिल्लो समय मास्कको विक्री ह्वात्तै बढेको मियाले बताइन्। ‘नेपालीभन्दा पनि चिनियाँहरु मास्क खोज्न बढी आइरहेका छन्,’ उनले भनिन्, ‘एन ९५ मास्क खोज्छन् तर बेच्नलाई त्यो मास्क छैन। त्यो नपाएपछि पेपर मास्क भएपनि लान्छन्।’
मास्कको माग बढेसँगै स्टक पनि सकिएको अर्का व्यापारी छत्र कार्कीले बताए। ‘बजारमा पाइने निलो र हरियो रंगका मास्क अभाव नै भइसकेको छ। अहिले चिनियाँहरुले प्रयोग नगर्ने कालो र सेतो रंगको मास्क मात्र नेपाली बजारमा विक्री भइरहेको छ,’ उनले भने।
सर्जिकल हाउसमा १० बट्टामात्र अर्डर गर्दा पनि नपाउने गरेको उनले बताए। ‘सर्जिकलहरु थुप्रै छन् तर मास्क छैन। यस्तै अवस्था रह्यो भने कपडाको मास्क नै बेच्नुपर्ने हुन्छ,’ उनले भने। मास्कको अभाव भएपनि सम्बन्धित निकायले चासो नदिएको उनीहरुको गुनासो छ।
तर, नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले भने अहिलेसम्म मास्कको अभाव नभएको बताए। ‘नेपालमा तत्काल मास्कको अभाव देखिएको छैन। तर आगामी दिनमा अभाव हुने सम्भावना रहेकाले समस्या समाधानका उपायहरु खोजी गरिरहेका छौं,’ उनले भने, ‘सबै सर्जिकल र व्यवसायीहरुलाई एकै जनालाई धेरै मास्क विक्री नगर्न निर्देशन पनि दिइसकेका छौं।’
नेपालमा मास्क उत्पादन गर्ने तीन वटा मात्रै कम्पनी छन्। यी सबै कम्पनीले साधारण पेपर मास्क मात्र उत्पादन गर्छन्। कोरोना भाइरसबाट जोगिन उपयुक्त मानिने एन ९५ मास्कको उत्पादन चीनमा हुन्छ। चीनबाटै नेपाल आयात गरिँदै आएको एन ९५ मास्क पछिल्ला दिनमा नेपाल भित्रिएको छैन।
बी.आर सर्जिकलले मात्र तीन दिनमा ५० कार्टुन पेपर मास्क विक्री गरेको तत्थ्यांक छ। एक कार्टुनमा दुई हजार पिस मास्क हुन्छ। नेपालमा आठ सयको हाराहारीमा सर्जिकल व्यवसायी छन्। तर कोरोना भाइरसको संक्रमण बढेसँगै मास्कको माग बढेको छ।