Kathmandu Press

पाठ्यक्रम बनाएरै सडक काट्नेदेखि ग्यास–बिजुली बाल्नेसम्मको शिक्षा दिनुपर्छ : चन्द्र भण्डारी

‘विश्वमा अरू देशमा बच्चाले विद्यालय जाँदा क्रस कसरी गर्ने, ग्यास कसरी बाल्ने वा बिजुली कसरी बाल्ने भनेर पढ्न पाउँछन्। तर हाम्रा विज्ञहरू, पाठ्यक्रम निर्माताहरूको पनि यसबारेमा ध्यान गएको देखिएन।’
पाठ्यक्रम बनाएरै सडक काट्नेदेखि ग्यास–बिजुली बाल्नेसम्मको शिक्षा दिनुपर्छ : चन्द्र भण्डारी

काठमाडौं, जेठ १० : आगलागीमा घाइते भएपछि लामो समय भारतमा उपचार गराएर फर्केका कांग्रेस सांसद चन्द्र भण्डारीले बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गरेका छन्।

गत पुसपछि उनलै आजै संसद्लाई सम्बोधन गरेका हुन्। गत पुस ३ मा आफ्‍नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा घाइते भएका भण्डारीलाई पुस ४ गते थप उपचारका लागि भारत लगिएको थियो। उनी भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार गराएर दुर्य साताअघि (वैशाख १७ गते) नेपाल फर्किएका थिए। उनले आफ्नो उपचारमा सहयोग गर्ने सरकार, शुभचिन्तक, डाक्टर सबैलाई धन्यवाद दिएका छन्।

सम्बोधनका क्रममा उनले गाउँगाउँमा विज्ञान प्रविधिका उपलब्धि पुगे पनि त्यसको प्रयोगबारे नसिकाइएको बताए। उनले आम जनतालाई यस्ता कुरा सिकाइनुपर्ने आवश्यकता औंल्याए। उनले पाठ्यक्रम बनाएरै सडक लेन क्रस गर्नेदेखि घरमा ग्यास र बिजुली कसरी चलाउने भन्ने शिक्षा विद्यालय तहमा समावेश गर्नुपर्नेमा जाेड दिए। 

‘गाउँगाउँमा ग्यास पुग्यो, बिजुली पुग्यो, बस पुग्यो । तर हामीले के गर्नुहुन्छ, के गर्नुहुन्न भनेर पाठ्यपुस्तकमा राख्न सकेनौँ। विश्वमा अरू देशमा बच्चाले विद्यालय जाँदा क्रस कसरी गर्ने, ग्यास कसरी बाल्ने वा बिजुली कसरी बाल्ने भनेर पढ्न पाउँछन्। तर हाम्रा विज्ञहरू, पाठ्यक्रम निर्माताहरूको पनि यसबारेमा ध्यान गएको देखिएन।’

जनताको वास्तविक समस्या सांसदहरूले पहिचान गर्न नसकेको उनको भनाइ थियो। ‘म पुस ३ गते जलन केसबाट जुन शारीरिक अवस्थामा पुग्नुपर्यो, त्यो अवस्था धेरै नेपालीहरूले भोगिरहनुभएको छ,’ उनले भने, ‘गत वर्ष ११० जनाले जलनको केसमा मृत्युवरण गर्नुभएको थियो। अहिलेको वर्षमा मेरो आमा थपिँदा १११ पुगेको छ। यो जलन केस देशभरि फैलिएको छ।अब ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्न भन्नुपर्‍यो, त्यस्तै कानून बनाउनुपर्‍यो।’

सांसद भण्डारीले सबैले नदीको किनारमा ठुला ट्रक र डोजर देखे पनि त्यही नदीको किनारमा एउटा गरिब जनताले बालुवा चालेर गिटी निकालेको नदेख्ने प्रवृत्ति रहेको बताए। ‘तिनीहरूकै भोट पाएर हाम्रो पहिचान बनाएको छ, उनीहरूले जिताएकै कारण यहाँ आएर बोल्न पाएका छौं।’

प्रकाशित मिति: १५:०९ बजे, बुधबार, जेठ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्