Kathmandu Press

राष्ट्रिय योजना आयोग खारेज गरिदिए हुन्छ : जसपा अध्यक्ष यादव

‘राष्ट्रिय योजना आयोग खारेज गरेर प्रधानमन्त्रीको आर्थिक सल्लाहाकार समिति निर्माण गरे हुन्छ। काम न काजको संस्था खडा गरेर खर्च मात्रै बढ्ने काम भएको छ।’
राष्ट्रिय योजना आयोग खारेज गरिदिए हुन्छ : जसपा अध्यक्ष यादव

काठमाडौं, जेठ १० : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवं सांसद उपेन्द्र यादवले राष्ट्रिय योजना आयोगको औचित्यमाथि प्रश्न उठाएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधिसभामा भइरहेको छलफलमा सहभागी हुँदै उनले मुलुकका लागि राष्ट्रिय योजना आयोगको आवश्यकता नरहेको र काम न काजको संस्था खडा गरेर खर्च मात्रै बढ्ने उनको भनाइ थियो। उक्त आयोग खारेज गर्नुपर्ने उनको भनाइ थियो।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय योजना आयोगलाई पुनः संरचना गर्ने उल्लेख छ। ‘यो राष्ट्रिय योजना आयोगको कुनै कामै छैन। यसलाइ खारेज गरिदिए हुन्छ। यसलाई खारेज गरेर प्रधानमन्त्रीको आर्थिक सल्लाहाकार समिति निर्माण गरे हुन्छ। काम न काजको संस्था खडा गरेर खर्च मात्रै बढ्ने काम भएको छ।’

केन्द्रले प्रदेश र स्थानीय सरकारलाई नियन्त्रण गर्न नसक्ने बताउँदै यादवले प्रदेश संघको एकाइ नभएको बरु साझेदार भएको बताए। ‘१७ भन्दा बढी ठाउँमा प्रदेश र स्थानीय सरकारलाई केन्द्र सरकारले नियन्त्रण गर्ने र दिने जस्तो व्यवस्था राख्न खोजिएको छ। यो भनेको संघीयताको मूल मर्म र भावनाविपरीत हो,’ उनले भने।

उनले नीति तथा कार्यक्रमले संघीयताविरोधी भाव बोकेको पनि बताए। उनले संघीय संरचानमा त्रुटि भएको र प्रदेशको नामकरण खोलानालाबाट भन्दा पनि ऐतिहासिक पृष्ठभूमि र पहिचानका आधारमा हुनुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: १४:३२ बजे, बुधबार, जेठ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्