जनतालाई विश्वासको वातावरण बनाउन प्रधानमन्त्रीले मुटु कमाउनुहँदैन : रवि लामिछाने
‘म कसैले आरोप लगाएको भरमा कसैलाई दोषी भन्न गइरहेको छैन,’ उनले भने, ‘कम्तीमा राज्यले छानबिन गर्न सक्नुपर्छ।’
काठमाडौं, जेठ १० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएका सबैको पनि अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधिसभामा भइरहेको छलफलमा सहभागी हुँदै लामिछानेले प्रकरणमा नाम जोडिएकाहरूको कम्तीमा राज्यले छानबिन गर्नुपर्ने बताए। ‘म कसैले आरोप लगाएको भरमा कसैलाई दोषी भन्न गइरहेको छैन,’ उनले भने, ‘कम्तीमा राज्यले छानबिन गर्न सक्नुपर्छ।’
उनले तीन दलका नेताहरू बसेर घटनालाई सामसुम पार्न खोजिएको भन्दै आशंका व्यक्त गरे। पैसा बुझाएको कुरा बाहिर आउँदा पनि किन अनुसन्धानमा नल्याइएको भन्दै सांसद लामिछानेले प्रधानमन्त्रीलाई प्रश्न गरे। सबैले निर्मम भएर यसको समीक्षा गर्नुपर्नेमा तीन पार्टी बसेर छलफल गर्दा शंका उत्पन्न भएको उनको भनाइ थियो। ‘कसैको नाम आएपछि हिलो लाग्छ भनेर रेड कार्पेट ओछ्याइदिनुस्त र प्रहरी कार्यालयमा लगेर बयान लिनुपर्छ,’ उनले भने।
प्रधानमन्त्रीले मुटु कमाउँदिनँ भनेपनि त्यस्तो अवस्था नदेखिएको सांसद लामिछानेले बताए। ‘प्रधानमन्त्रीजी, अब म तपाईंको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने हो भन्नुस्। काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने मलाई शंका लागेको छ।’
राजनीति र प्रशासनको उच्च तहको मिलेमतो र संरक्षणमा ठुल्ठुला भ्रष्टाचार काण्ड भए पनि सामान्य बनाउँदै लगिएको जिकिर गरे। तर नाम आएका सबैलाई प्रहरीले नियन्त्रणमा लिएर उनीहरूलाई बयान लिनुपर्नेमा जोड दिए। हाई प्रोफाइनल भनेर कसैलाई छोड्न नहुने उनले बताए।
‘भ्रष्टाचार काण्ड कल्पनै गर्न नसकिने गरी दिनहुँ प्रस्तुत भएको छ। राजनीति र प्रशासनको उच्च तहको मिलेमतो र संरक्षणमा ठूल्ठूला भ्रष्टाचार काण्ड भएका छन्। यसलाई हामीले सामान्य बनाएर गएका छौं,’ उनले भने, ‘नक्कली भुटानी शरणार्थी काण्डमा बालुवाटारभित्र पैसा बुझाएको, सिंहदरबार मन्त्री क्वाटरभित्र पैसा बुझाएको जस्ता विवरण आएका छन्। सबैको छानबिन हुनुपर्छ। जनतालाई विश्वासको वातावरण बनाउन प्रधानमन्त्रीले मुटु कमाउनुहँदैन।’








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


