विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिम घोषणा
क्यानले घोषणा गरेको टिममा एसिसी प्रिमियर कपमा टिममा रहेका र वैकल्पिकको सूचीमा रहेका खेलाडीलाई समेटिएको छ।
काठमाडाैं, जेठ ८ : यसैवर्ष भारतमा आयोजना हुने एकदिवसीय विश्वकपको ग्लोबल छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले प्रारम्भिक टिम घोषणा गरेको छ। क्यानले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको हो।
क्यानले घोषणा गरेको टिममा एसिसी प्रिमियर कपमा टिममा रहेका र वैकल्पिकको सूचीमा रहेका खेलाडीलाई समेटिएको छ।
जिम्बावेमा जुन १८ देखि सुरू हुने विश्वकप छनोटमा चार टेस्ट राष्ट्रसहित १० टिमले भाग लिँदैछन्। नेपालसहित दुई पटकको विजेता वेस्टइन्डिज, पूर्वविजेता श्रीलंकासहित आयरल्यान्ड र जिम्बावेले प्रतियोगितामा भाग लिँदैछन्। ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, अमेरिका, युएईले विश्वाप छनोट खेल्ने छन्।
१० टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूहका शीर्ष तीन टिमले सुपर सिक्समा स्थान बनाउने छन्। सुपर सिक्सको शीर्ष दुई टिमले विश्वकपमा स्थान बनाउने छन्।
२२ सदस्यीय टिमलाई एक साता प्रशिक्षण गराएपछि मुख्य प्रशिक्षक मोन्टी देसाईले १५ सदस्यीय टिम छनोट गर्नेछन्। त्यसपछि नेपाली टिम थप प्रशिक्षणका लागि दक्षिण अफ्रिका जाने छ।
त्यहाँ २ साता प्रशिक्षण गरेपछि नेपाली टिम उतैबाट जिम्बाबे जानेछ।
प्रारम्भिक टिम : कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अभिनास बोहरा।











