एपिएफ र मनाङ मर्स्याङ्दीले खेले बराबरी
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले एपीएफ क्लबसँग २–२ गोलको बराबरी खेलेको हो। खेलको १३ औं मिनेटमा कोफी कुडोले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए।
काठमाडाैं, जेठ ७ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपिएफ क्लबसँग मनाङ मर्स्याङ्दी क्लब बराबरीमा रोकिएको छ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले एपीएफ क्लबसँग २–२ गोलको बराबरी खेलेको हो। खेलको १३ औं मिनेटमा कोफी कुडोले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए।
तर खेलको २० औं मिनेटमा नविन लामाले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा ल्याए। खेलको २६ औं मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए। त्यसपछि खेलको ६४ औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई २–२ गोलको बराबरीमा ल्याए।
बराबरीसँगै मनाङले २० खेलमा २४ अंक जोडेको छ। एपीएफले २० खेलमा २३ अंक जोडेको छ।
त्यस्तै आइतबार नै च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्रले न्युरोड टिमलाई २-० गोल अन्तरले पराजित गर्यो। मच्छिन्द्रका लागि ओलावाले आफिजले खेलको १३ मिनेट र सौरभ लिम्वुले इन्जुरी समयमा गोल गरेका थिए।
जितसँगै २० खेलमा मच्छिन्द्रले ३४ अंक जोडेको छ भने समान खेल खेलेको न्युरोड टिमको २३ अंक रहेको छ।