खुमलटारले आर्मीलाई रोक्यो, हिमालयनसँग एपिएफ पराजित
शुक्रबार दशरथ रंगशालामा भएको खेलमा खुमलटारलाई आर्मीलाई २–२ गोलको बराबरीमा रोकेको हो।
काठमाडाैं, जेठ ५ : सहिद स्मारक ए डिभिजन लिगमा एफसी खुमलटारले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई बराबरीमा रोकेको छ। शुक्रबार दशरथ रंगशालामा भएको खेलमा खुमलटारलाई आर्मीलाई २–२ गोलको बराबरीमा रोकेको हो।
आर्मी दुई पटकको अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो। खेलमा आर्मीमा जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले गोल गरे भने। खुमलटारका मेसुके ओलोमोउ र स्टेफेन समिरले गोल गरे।
१४औं मिनेटमा जगजितले आर्मीलाई सुरुआती अग्रता दिलाए। उनले फ्रिकिकमा गोल गरेका थिए। तर, खेलको ३५औं मिनेटमा ओलोमोउले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए।
पहिलो हाफ १–१को बराबरीमा सकिएको खेलमा ५१औं मिनेटमा आर्मीले पुनः अग्रता लियो । उसका नवयुगले गोल गरे। तर, ७५औं मिनेटमा समिरले गोल गर्दै खुलटारलाई फेरि बराबरीमा ल्याए। त्यसपछि गोल नहुँदा खेल बराबरीमै सकियो।
यस २६ अंकसहित आर्मी छैठौं स्थानमै छ भने १८ अंकसहित पुछारमा छ।
त्यस्तै शुक्रबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पा क्लब विजयी भयो । उसले एपिएफ क्लबलाई ३–२ ले हरायो।
हिमालयनको जितमा खामिर गिल्सन, पिस्टोन मुटुम्बा र अबायोमी फाकुन्लेले गोल गरे भने एपिएफका सनिश श्रेष्ठ र युवराज खड्काले गोल फर्काए।
जितसँगै १९ खेलमा २४ अंक जोडेको हिमालयन शेर्पा सातौं स्थानमा उक्लँदा २२ अंक जोडेको एपिएफ १०औं स्थानमा भरेको छ।











